कमला नगरपालिकाको भ्रष्टाचार काण्ड : पूर्व नगरप्रमुखसहित १० जनामाथि मुद्दा

११ मंसिर २०८२, बिहीबार १६:४८

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको कमला नगरपालिकामा भएको अनियमिततामा संलग्न ठहरिएका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। आयोगले एक निर्माण कम्पनी ‘इन्फ्रास्ट्रक्चर एस एण्ड बी बिल्डर्स प्रालि’ र कम्पनीका अध्यक्ष सन्तोष कुमार यादवलमाथि पनि मुद्दा चलाएको छ।

कमला नगरपालिकाको लग्मा बजारस्थित पोखरीको डिलमा माटो भर्ने तथा घाट निर्माण गर्ने काम न्यूनतम रकम कबोल गर्ने ठेकेदारलाई नदिइ दोस्रो प्रस्तावकर्ता फर्मसँग मिलेमतोमा सम्झौता गरिएको आयोगको प्रारम्भिक अनुसन्धानले देखाएको हो। सोही आधारमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार तत्कालीन नगर प्रमुख गोइतसँगै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र कुमार साधान, लेखापाल सञ्जीव कुमार महतो, जिन्सी शाखा प्रमुख जुगल किशोर यादव, कार्यपालिका सदस्यहरू धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी र समसुल मिया मोमिन कार्यमा प्रत्यक्ष सहभागी रहेको ठहर गरिएको छ।

अनियमिततामा संलग्न सबैमाथि २९ लाख ४४ हजार १३७ रुपैयाँको बिगो मागदाबी गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*