शिक्षण, व्यापार फापेन, विदेशमा मनै नमानेपछि नारायण सुवेदी नेशनल लाइफमा यसरी भए उत्कृष्ट

मानिसको जीवनमा असीमित चाहना र उतार–चढाव आउँछन् । कुनै समय शिक्षण पेशामा लागेर कलिला बालकहरुलाई क ख ग सिकाइरहेका थिए नारायण सुवेदी । पछि त्यसमा पनि भविष्य नदेखेपछि विदेश पलायन भए । अर्काको देश, अर्काको कानुनमा बाँधिएर काम गर्दा आत्मसन्तुष्टि त परको कुरा सोचे जस्तो कमाई पनि थिएन ।
समय परिस्थितिले २०१५ सालतिर फेरि आफ्नै माटोमा बोलायो । नेपाल आइसकेपछि व्यापार व्यवसायमा हात हाले तर कोरोना तथा विविध कारणले व्यवसायमा पनि जम्न सकेनन् । लाखौं अथक प्रयासका बावजूद व्यापार व्यवसाय सफल भएन । पछि विस्तारै जीवन बीमामा हानिए । अहिले आफ्नो परिश्रम र लगावबाट जीवन बीमामा करोडौंको व्यवसाय गरी जमिरहेका छन् ।
नेपाली जीवन बीमा क्षेत्रमा चिरपरिचित नाम हो नारायण सुवेदी र जीवन बीमा क्षेत्रमा सुवेदीले निभाएको भूमिका देश भरीका बीमा अभिकर्ताहरुले समेत अनुसरण गर्न लायककै देखिन्छ ।
दिनभरी देशभरीका आम नागरिकहरुसँग प्रत्यक्ष भेटघाट तथा सामाजिक सञ्जालबाट समेत बीमा सचेतना बढाउँदै बीमितको जोखिम रक्षावरण गर्नु सुवेदीको दैनिकी बनेको छ त्यसैले त उनले देशका ५० बढी जिल्लाका नागिरकको बीमा गर्न सफल भइसकेका छन् ।
चितवनको राप्ती नगरपालिका–९ मा जन्मिएका सुवेदी हाल नेशनल लाइफ इन्स्योरेन्सको कलंकी शाखा कार्यालयमा बीमा अभिकर्ताको रुपमा कार्यरत रहेका छन् । गत आर्थिक वर्षको व्यक्तिगत कोडको व्यवसायको आधारमा पनि सुवेदी नेपाल अधिराज्य भरीबाट दोस्रो स्थान हासिल गर्न सफल भएका छन् ।
२१औं शताब्दीको समयमा उनले आफ्नो कुल बीमाको ८० प्रतिशत व्यवसाय वैदेशिक रोजगारमा रहेका नेपाली दाजु–भाइ, दिदी–बहिनीबाट ल्याउने गरेका छन् । सामाजिक सञ्जालमा निकै सक्रिय रही व्यवसाय गरिरहेका उनले नेशनल लाइफका सुहाउँदा बीमा पोलिसी बीमितको आर्थिक अवस्थाको मुल्यांकन गरी बिक्री गर्दै आएका छन् ।
जीवन बीमा अभिकर्ता व्यवसायमा इमान्दारिता निकै महत्वपूर्ण विषय रहेको उनको धारणा छ । देशभरीबाट कतिपय अभिकर्ताबाटै ठगिएका बीमितले पनि उनलाई सामाजिक सञ्जालमा सम्पर्क गरी गुनासो गर्ने गर्छन् । विदेशमा रहेका नागरिकले नेपाली जीवन बीमा कम्पनीमा कसरी बीमा गर्न सक्छन्? भोलि बीमा दावी गर्नुपरेमा कसरी गर्ने? प्रक्रिया कस्तो हुन्छ? कागजात कसरी आदान–प्रदान हुन्छ? लगायतका थुप्रै विषयमा नागरिकहरुले सुवेदीलाई बुझेर अनि बल्ल बीमा पोलिसी लिने गरेका छन् ।
प्रस्तुत छ उनै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका चिफ बिजनेश अफिसर नारायण सुवेदीसँग बीमापोष्टका लागि राजन कठायतले गरेको कुराकानीको प्रस्तुत अंशः
तपाई अभिकर्ता पेशामा आवद्ध हुनुभएको कति समय भयो ?
म सन् २०१५ मा वैदेशिक रोजगार छोडेर नेपाल आइसकेपछि यो पेशामा आवद्ध भएँ तर सुरुमा यो पेशाले मात्रै पुग्छ भन्ने कुरा नलागेर अन्य पेशाहरु पनि गरें । साथै २०२० देखि चाँहि अब यही पेशाले जिविकोपार्जन गर्छु भन्ने सोचेर अघि बढेको छु । मलाई मैले सक्छु भन्ने लाग्यो त्यसपछि २०२० यता मैले निरन्तर यही पेशामा आवद्ध भई अघि बढेको छु ।

नेपालमा थुप्रै पेशा व्यवसायहरु छन् तर अभिकर्ता पेशालाई नै छनौट गरी अघि बढ्नुका कारण के हुन सक्छन् ?
मैले पनि नेपालमा विभिन्न पेशाहरु हात हालें शिक्षक भएँ व्यापारी भएँ विभिन्न कामहरु गरें तर कुनै पनि पेशा व्यवसायमा मलाई यो पेशाको जत्ति आत्म सन्तुष्टि मिलेन । यो जीवन बीमा अभिकर्ता पेशा एउटा पेशा मात्र नभएर सेवाभाव पनि हो हरेक परिवारलाई चाँहि आर्थिक सुरक्षाको घेरामा भोलि आउने भवितव्यबाट बचाउनलाई चाँहि सहयोग गर्न सक्ने पेशा भएका कारणले गर्दा नै मेरो आत्म सन्तुष्टिको लागि नै यो पेशामा लागेको हु ।
अभिकर्ता भएपछि तपाई अब गाँउ समाजमा जानुहुन्छ नागरिकहरुलाई बीमा सम्बन्धी जनचेतना फैलाउनुका साथै बीमा गर्न प्रस्ताव पनि गर्नुहुन्छ । यसो अवस्थामा कस्तो प्रतिक्रिया पाउनुहुन्छ र ती कुरालाई कसरी आत्मसाथ गर्दै अघि बढ्नुहुन्छ ?
बजारमा जाँदाखेरी विभिन्न किसिमका नकारात्मक किसिमका कुराहरु त आइ नै हाल्छन् हरेक चिजमा सकारात्मक–नकरात्मक चिज त भै हाल्छन् । यसरी बजारमा रहेको बीमा सम्बन्धी अज्ञानतालाई एकदमै सरल र सहज तरिकाले बुझ्ने गरी बीमितहरुलाई बुझाएर बीमा आइहाल्छ भन्ने उद्देश्य नराखिकन उहाँहरुलाई बीमा सम्बन्धी ज्ञान चाँहि दिऊँ र बीमाले जुन काम गर्न सक्छ त्यो काम अन्य कुनै पनि कुराले गर्न सक्दैन भन्ने कुरा प्रस्टसँग बुझाएर महत्वपूर्ण सल्लाह सुझावलाई आत्मसाथ गरेर अघि बढेको छु ।
नेशनल लाइफ इन्स्योरेन्समा गत आवमा नेपाल अधिराज्यबाट करोडौंको व्यवसाय गरी दोस्रो स्थान हासिल गर्न सफल हुनु भएको छ । वर्षदिनमै करोडौंको व्यवसाय गर्न कसरी सम्भव भयो ?
मेरो इमान्दारीता, कामप्रतिको लगाव नै मेरो लागि सबैभन्दा बढी महत्वपूर्ण कुरा हो । किनभने मैले हरेक बीमितहरुलाई वित्तीय अनुशासन सिकाइरहेको हुन्छु । नागरिकलाई स–सानो रकम जम्मा गरी बुढेसकालको लठ्ठी बन्छ तथा छोराछोरीलाई उचित शिक्षा दिलाउन सहज हुन्छ भन्दै मैले वित्तीय अनुशासन सिकाउँछु । मेरो सोही कुरा र इमान्दारिताले पछिल्लो समय मसँग बीमा गरेका हरेक बीमितले अरु मानिसको बीमा बीमा गराउन मलाई सम्पर्क गरिरहेका छन् ।
तपाईंले समाजिक सञ्जालकै प्रयोग गरी नेशनल लाइफमा आफ्नो ९० प्रतिशत जति व्यवसाय पनि विदेशमा रहेका नागरिकबाट ल्याउनुहुन्छ भन्ने सुनिन्छ । विदेशमा रहेका नागरिकले नेशनल लाइफमा कसरी बीमा गर्न सक्छन्, प्रक्रिया के रहन्छ ?
अहिलेको यो डिजिटल युगमा सबै कुरा अनलाइनबाटै हुन्छ । म स्वयम् पनि केही वर्ष विदेशमा बसेको र विदेशमा बसेका नेपालीहरुको पीडा बुझेको, आत्मसाथ गरेको भएकाले उहाँहरुलाई भविष्यमा आउने जुन समस्या छ त्यसको बारेमा छर्लङ्ग पारेर राम्रोसँग काउन्सीलिङ्ग गरेर बीमा ल्याउने गरेको छु । यसमा चाँहि कम्पनीले पनि सहयोग गरेको छ । कम्पनीले पठाएका फर्म भरेर बीमितले पठाएको भरमा नै बीमा हुन्छ ।
पारदर्शीताकाको कुरामा चाँहि विदेशमा बस्ने नेपालीहरुले मोबाइल बैकिङ्ग तथा इसेवा लगायत अन्य माध्यमबाट कम्पनीकै खातामा भुक्तानी गर्न सक्नुहुन्छ र विदेशबाटै आफ्नो बीमा भयो भएन त्यसमा के सेवा सुविधा समावेश गरेको छ वा छैन त्यो सिस्टममा गएर एकदमै सहज रुपले हेर्न सक्छन् । त्यसैले यो निकै सहज छ ।

विदेशमा रहेका बीमितको कुनै दुर्घटना भएर दावी परेको खण्डमा कसरी नेपालमा बीमा दावी कसरी गर्न सकिन्छ ? यसमा अभिकर्ताहरुले कसरी सहजीकरण गर्न सक्छन् ?
विदेशको जुनसुकै ठाउँमा घटना घटेपनि त्यहाँको स्थानीय पञ्जीकरण विभाग तथा प्रहरी रिपोर्टहरु हुन्छ । अथवा हस्पिटल रिपोर्ट हुन्छ । त्यो त्यहाँकै भाषामा भए पनि हामीले विश्व भाषामा ट्रान्सलेट गरेर कम्पनीमा दावी भुक्तानीको लागि पेश गरीसकेपछि केही समयमै दावी भुक्तानी सहज रुपमा उपलब्ध गराइन्छ । कम्पनीले बीमितको खातामा नै दावी वापतको रकम पठाइदिन्छ । यसरी सहज दावी पाइन्छ ।













