नेपालबाट बंगलादेशले थप २० मेगावाट विद्युत् आयात गर्ने सहमति

काठमाडौं । नेपालबाट बंगलादेशले थप २० मेगावाट विद्युत् आयात गर्ने सहमति जनाएको छ। हाल बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली आयात गर्दै आएको थियो भने आगामी वर्षदेखि कुल ६० मेगावाट विद्युत् लिन नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौँ बैठकपछि दुवै पक्ष सहमत भएका हुन्।
बैठकमा नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत र बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज मन्त्रालयकी सचिव फर्जाना ममताजले सहअध्यक्षको भूमिका निर्वाह गरेका थिए। सचिवस्तरीय बैठकले गत मंसिर १० गते बसेको संयुक्त कार्यदलको सिफारिस र छलफलको आधारमा विद्युत् व्यापार तथा ऊर्जा सहकार्यका विभिन्न विषयमा निर्णय गरेको छ।
बंगलादेशले सुनकोशी–३ जलविद्युत् आयोजनामा चासो देखाउँदै मूल्यांकनका लागि विशेषज्ञ समिति गठन गर्ने र लगानीको विषय छिट्टै टुंग्याउने प्रतिबद्धता जनाएको छ। त्यसैगरी, नेपालबाट भारतीय ग्रिडमार्फत बंगलादेशको बरापुकारया, पञ्चगढ/ठाकुरगाउँ, भेरामारा र कोमिल्लासम्म विद्युत् निर्यातको सम्भावना पनि अध्ययन गर्ने सहमति भएको छ।
दुवै देशले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता प्रवर्द्धनमा सहकार्य गर्न समझदारीपत्रमा छिट्टै हस्ताक्षर गर्ने निर्णय गरेका छन्। यस अन्तर्गत बंगलादेशले नेपाललाई ऊर्जा परीक्षण, ईभी चार्जिङ र रूफटप सोलारजस्ता क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने छ।
क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत पहिलो चरणमा बंगलादेशी टोलीका लागि तालिम काठमाडौंमा सञ्चालन हुने छ भने दोस्रो चरणमा नेपाली टोलीलाई बंगलादेशमा प्रशिक्षण दिइने छ। साथै, नेपाल, भारत र बंगलादेशबीच ऊर्जा क्षेत्रमा त्रिदेशीय सहकार्यका लागि तयार गरिएको समझदारीपत्रमा भारतको सहमति लिन संयुक्त पहल गर्ने निर्णय पनि बैठकले गरेको ऊर्जा मन्त्रालयले जनाएको छ।













