तीन तोला सुन लगाएर स्वदेश फर्केका पूर्वनेपाली नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको होल्ड ब्यागेज चेकजाँच गर्ने क्रममा सुन, चाँदी तथा मोतीको जस्तो देखिने गरगहनाहरू सहित दुई जना पूर्वनेपाली नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा हाल अमेरिकी नागरिक भइसकेका ३२ वर्षीय सुनिल शंकर र ३१ वर्षीय बिनिता गजमेर रहेका छन्। उनीहरूलाई एयर इन्डियाको उडान मार्फत काठमाडौंबाट दिल्ली हुँदै अमेरिका जान लागेको अवस्थामा चेकजाँचको क्रममा प्रहरीले पक्राउ गरेको हो।
चेकजाँच गर्दा सुनिलको लगेजबाट सुन जस्तो देखिने धातुका गरगहना करीब ३१ ग्राम ४०० मिलिग्राम, चाँदी जस्तो देखिने धातुका गरगहना करीब १ किलो ३४६ ग्राम र मोतीको जस्तो देखिने धातुका गरगहना करीब ५३ ग्राम फेला परेको छ। त्यसैगरी बिनिताको लगेजबाट सुन जस्तो देखिने धातुका गरगहना करीब ९१ ग्राम ७०५ मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूलाई मंगलबार राति पक्राउ गरेको हो भने पक्राउ गरेर थप अनुसन्धानका तथा कारवाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय गौचर पठाइएको जनाएको छ।













