उच्च प्रतिफलयुक्त क्षेत्रमा लगानी गर्दै एशियन लाइफ, शेयरदेखि पर्यटन क्षेत्रमा अर्बौको लगानी

१२ मंसिर २०८२, शुक्रबार १६:३९

काठमाडौँ । नेपाली बीमा बजारमा विगत करिब दुई दशकदेखि निरन्तर आफ्नो अस्तित्व मजबुत बनाउँदै आएको एशियन लाइफ इन्स्योरेन्स पछिल्ला वर्षहरूमा उत्कृष्ट क्षेत्रमा लगानी बढाउँदै अगाडि बढेको छ । २०६४ फागुन १५ गते स्थापना भएको कम्पनीले जीवन बीमा क्षेत्रमा स्थायित्व, सेवा विस्तार र आर्थिक मजबुतीलाई मुख्य आधार मानेर काम गर्दै आएको छ । देशभर विस्तारित आफ्नो संरचना, कर्पोरेट सुशासन र बढ्दो लगानी क्षमताका कारण एशियन लाइफ हाल बीमा उद्योगमा महत्वपूर्ण र विश्वसनीय संस्थाका रूपमा स्थापित हुन सफल भएको छ ।

स्थापना कालदेखि नै सेवा विस्तारलाई प्राथमिकतामा राख्दै आएको कम्पनीले स्थानीयदेखि केन्द्रीय तहसम्म ५० शाखा र ८२ उपशाखाका माध्यमबाट बीमा सेवा पु-याइरहेको छ । कतिपय ग्रामीण तथा अर्धशहरी क्षेत्रमा अझै बीमा सेवाको पहुँच सीमित रहेको अवस्थामा एशियनले आफ्नो शाखा नेटवर्कलाई क्रमशः विस्तार गरी जीवन बीमा सेवामा सर्वसाधारणको पहुँच वृद्धिमा सहयोग पु-याएको छ । यही विस्तारित संरचनाबाट कम्पनीले जनस्तरमा बीमाका सम्भावित आवश्यकता, जोखिमप्रतिको तयारी र आर्थिक सुरक्षाबारे ग्राहकलाई निरन्तर जागरूक गराउँदै आएको छ ।

एशियन लाइफसँग करिब २३ हजार ५६२ जना व्यक्तिगत एजेन्ट तथा आठ जना कर्पोरेट एजेन्ट क्रियाशील छन्, जसले कम्पनीको बीमा व्यवसाय विस्तारमा अत्यन्तै महत्वपूर्ण भूमिका खेलेका छन् । देशका अधिकांश जिल्लामा एजेन्टहरूको उपस्थिति पुगेकाले बीमा बिक्री मात्र नभई दाबी भुक्तानीका प्रक्रिया तथा ग्राहक सेवामा सहजता आएको कम्पनीको अनुभव छ ।

सेवा प्रसारसँगै कम्पनीको लगानी दायरा पनि निरन्तर विस्तार हुँदै गएको देखिन्छ । बीमा प्राधिकरणमा पेश भएको तथ्याङ्कका अनुसार एशियन लाइफ इन्स्योरेन्सले हालसम्म विभिन्न क्षेत्रमा ४६ अर्ब ६१ करोड ४९ लाख ४ हजार रुपैयाँ लगानी गरेको छ । जीवन बीमा कम्पनीहरूको लगानी संरचना सामान्यतया दीर्घकालीन सुरक्षात्मक क्षेत्रतर्फ केन्द्रित रहने भए पनि एशियनले पछिल्ला वर्षमा प्राथमिक र उच्च उत्पादकशील क्षेत्रतर्फ पनि लगानी विस्तार गर्दै आएको छ । यसले कम्पनीको वित्तीय क्षमतासँगै सम्पूर्ण बीमा उद्योगको लगानी प्रवाहलाई पनि मजबुती प्रदान गरेको देखिन्छ ।

नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा नेपाल राष्ट्र बैंकद्वारा जारी गरिने बचतपत्र वा ऋणपत्रहरू सुरक्षित लगानीका रूपमा पहिचान गरिन्छन् । यी क्षेत्रलाई प्राथमिकता दिँदै एशियन लाइफले ६२ करोड ५० लाख रुपैयाँ सरकारी कागजातहरूमा लगानी गरेको छ ।

त्यस्तै, क वर्गका बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेप कम्पनीको प्रमुख सुरक्षित लगानी क्षेत्रका रूपमा रहेको छ । कम्पनीले क वर्गका बैंकमा २७ अर्ब २० करोड ४ लाख रुपैयाँ मुद्दती निक्षेप राखेको छ, जसले कम्पनीको ब्याज आम्दानीलाई स्थिर तथा विश्वसनीय बनाएको छ । क वर्गका संस्थाहरू आफूमा उच्च पूँजीगत आधार र नियामकीय कडाइका कारण जीवन बीमा कम्पनीहरूको प्रमुख लगानी गन्तव्य मानिन्छन् ।

नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ख वर्गका बैंक तथा वित्तीय संस्थाहरूमा एशियन लाइफले २ अर्ब १३ करोड रुपैयाँ मुद्दती निक्षेप राखेको छ । त्यस्तै, ग वर्गका वित्तीय संस्थाहरूमा कम्पनीको २० करोड ५० लाख रुपैयाँ लगानी रहेको छ । यी लगानीले वित्तीय क्षेत्रका विभिन्न तहमा पूँजी वितरणमा योगदान पु-याउने मात्र नभई स्थानीय अर्थतन्त्रमा चलायमानता बढाउन पनि सहयोग पु-याएको छ ।

सूचीकृत पब्लिक कम्पनीहरूको शेयर तथा ऋणपत्र बीमा कम्पनीहरूको अर्को महत्त्वपूर्ण लगानी क्षेत्र हो । एशियन लाइफले सूचीकृत कम्पनीका साधारण शेयरमा ८६ करोड ४३ लाख ६७ हजार रुपैयाँ लगानी गरेको छ । पूँजी बजारमा उतारचढाव यथावत रहेको अवस्थामा दीर्घकालीन दृष्टिकोणसहित गरिएको यस्तो लगानीले कम्पनीको पोर्टफोलियोमा विविधता ल्याएको देखिन्छ । त्यस्तै, सूचीकृत पब्लिक कम्पनीका बन्ड, डिबेन्चर तथा ऋणपत्रमा कम्पनीले ८ अर्ब ९ करोड ३५ लाख २९ हजार रुपैयाँ लगानी गरेको छ ।

एशियन लाइफले पछिल्लो समय विकास, पूर्वाधार तथा नविकरणीय ऊर्जा क्षेत्रमा पनि उल्लेखनीय लगानी विस्तार गरेको छ । कृषि उत्पादन तथा वितरण, शीत भण्डारण, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जा लगायत नविकरणीय ऊर्जा परियोजना, केवलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा कम्पनीले ३ अर्ब ५८ करोड २ लाख १६ हजार रुपैयाँ लगानी गरेको छ । यी क्षेत्रहरू राष्ट्रिय आर्थिक विकासका प्रमुख आधार भएकाले बीमा कम्पनीको दीर्घकालीन लगानीले देशको समग्र विकासमा टेवा पु-याएको देखिन्छ ।

यस्तै, नागरिक लगानी कोष तथा म्युचुअल फण्डका योजनामा कम्पनीले ४ करोड २ लाख रुपैयाँ लगानी गरी पोर्टफोलियोलाई अझ विविध बनाएको छ । अन्य संस्थापक शेयरमा ३ अर्ब ७९ करोड ४९ लाख १२ हजार रुपैयाँ र अन्य विभिन्न क्षेत्रतर्फ ८ करोड १२ लाख ८० हजार रुपैयाँ लगानी रहेको छ । संरचना हेर्दा एशियन लाइफले सुरक्षित, उच्च प्रतिफलयुक्त तथा विकासोन्मुख क्षेत्रतर्फ सन्तुलित ढंगले लगानी गरी आफ्नो वित्तीय स्थायित्वलाई मजबुत बनाइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*