निर्जीवन बीमा कम्पनीहरुको दावी बक्यौता ५९% ले बढेर ५२ अर्ब बढी, असोजसम्ममा साढे ५ अर्ब भुक्तानी

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुको बीमा दावी बक्यौता (भुक्तानी हुन बाँकी रकम) ५२ अर्ब बढी रहेको पाइएको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको बीमा प्रतिबिम्ब अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीको दावी बक्यौता ५२ अर्ब २० करोड ४० लाख रुपैयाँ रहेको पाइएको हो ।
मुख्यतया जेन–जी आन्दोलन र बाढी पहिरोको क्षतिमा परेको बीमा दावीले निर्जीवन बीमा कम्पनीहरुको दावी बक्यौता उच्च अंकले बृद्धि हुन गएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको बीमा दावी बक्यौता गत आर्थिक वर्षको तुलनामा ५९.११ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुको दावी बक्यौता गत आर्थिक वर्षमा ३२ अर्ब ८१ करोड पाँच लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुले पाँच अर्ब ६४ करोड दुई लाख रुपैयाँ बराबरको कुल बीमा दावी भुक्तानी गरेका छन् । जुन गत आर्थिक वर्षको तुलनामा ३१.८५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीहरुले चार अर्ब २७ करोड ७७ लाख रुपैयाँ बराबरको कुल बीमा दावी भुक्तानी गरेका थिए ।
पछिल्लो केही वर्षयता निर्जीवन कम्पनीहरु विभिन्न ठूला–ठूला प्राकृतिक प्रकोपका साथै हुलदङ्गाको सिकार बन्दै गएका छन् । देशको परिस्थीतिका विरुद्ध गत वर्षको चैतमा तिनकुनेमा भएको आन्दोलन होस् वा गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको क्षतिको बीमा दावीले निर्जीवन बीमा कम्पनीहरुले आहत बनेका छन् ।
राजाबादी र जेन–जी आन्दोलनको बीमा दावीले आहत बनेका बीमा कम्पनीहरुमा गत असोज १८ र १९ गतेको अविरल बर्षासँगै आएको डुबान तथा बाढीले थप दवाव सिर्जना गरेको थियो ।
जेन–जी आन्दोलनको दावी बीमा हुलदंगा तथा आतंकवाद अन्तर्गत परेकोले भुक्तानीमा बीमा कम्पनीहरुले ठूलो रकम तिर्नुपर्ने अवस्था छ । अर्कोतर्फ सोही बेला असोजको तेस्रो साता आएको बाढीले अर्बौ रुपैयाँको बीमा दावी सिर्जना हुने अवस्था आएपछि बीमा कम्पनीहरुको दावी बक्यौता बढेको हो ।
जेनजी आन्दोलनमा पुगेको क्षतिले बीमा कम्पनीहरुमा २३ अर्बबढी रुपैयाँको बीमा दावी परेको छ । जसमा हालसम्म कम्पनीहरुले चार अर्ब रुपैयाँ भुक्तानी गरीसकेका छन् । स्टक तथा गोदाममा राखिएको मालबस्तुमा पुगेको क्षति, पसल, घरमा पुगेको क्षति र जलविद्युत आयोजनाको बीमाले दावी बढ्दै गएको छ । प्रत्यक वर्ष मनसुनी बर्षा सकिनुपर्नेमा ढिलासम्म बसेर बिनास गरेकोले बीमा कम्पनीहरु थप मारमा पर्दै गएका छन् ।













