निर्जीवन बीमा क्षेत्रमा २० प्रतिशतसम्म क्यासब्याकको अस्वस्थ प्रतिस्पर्धा, नियामकको सुधार्ने प्रयास पनि असफल

१४ मंसिर २०८२, आईतवार ११:४१

काठमाडौं । नेपाली निर्जीवन बीमा क्षेत्रमा क्यासब्याकको अत्यन्तै अस्वस्थ प्रतिस्पर्धा हुन पुगेको छ जसका कारण कुनै पनि बेला निर्जीवन बीमा क्षेत्रले अप्रिय अवस्थाको सामना गर्नुपर्ने अवस्था आउन सक्नेछ भने विदेशी पुनर्बीमा कम्पनीहरू माँझ नेपाली बीमा कम्पनीहरूले विश्वास गुमाउने अवस्था आउन सक्नेछ ।

प्रतिस्पर्धी कम्पनीको बजार खोस्ने र आफ्नो व्यवसाय बढाउने उद्देश्यले नेपालका बीमा कम्पनीहरूले अत्यन्तै अस्वस्थ मानिने क्यासब्याक अभियान चलाइरहेको खुलेको छ । एक बीमा कम्पनीका सिईओले बीमापोष्टसँग गुनासो गर्दै भने, ‘मैले तीन महिना क्यासब्याक दिन्न शून्यमा राख्छु भनेर कठोर बने तर त्यही बीचमा मेरो कम्पनीमा भएको २० प्रतिशत व्यवसाय खोसेर अन्यत्र लगियो । मेरो व्यवसाय नै करिब २५ प्रतिशत तल झर्यो अनि बाध्य भएर पुरानै प्रवृत्ति दोहोर्याउनु पर्यो ।’

अधिकांश उच्च व्यवस्थापकहरूको यही गुनासो छ । एक बीमा कम्पनीमा मार्केटिङ तहमा काम गर्ने कर्मचारीले बीमापोष्टसँग भने, ‘बीमा बजार अहिले एजेन्ट र बिचौलियाको हातमा पुगेको छ कम्तीमा एक ठाउँमा कमिशन बुझाउँदा बल्ल व्यवसाय ल्याउन सकिन्छ ।’ ति कर्मचारीका अनुसार पब्लिक कम्पनी भए सो कम्पनीका सञ्चालक वा अध्यक्षलाई कमिशन दिनुपर्ने र अन्य प्राइभेट कम्पनी भएमा काम गर्ने कर्मचारीहरूले कमिशन र उपहार खोजेर हैरान पार्छन् ।

क्यासब्याक बीमाभित्र मात्रै सीमित नभई अब आम रूपमा बजारमै चर्चित बन्न पुगेको माथि उल्लेखित दुई उदाहरणले स्पष्ट पार्छ । एकातिर बीमा कम्पनीकै मार्केटिङ गर्ने कम्पनीले खाजा र कफीको बिल भनेर आफ्नै कम्पनीसँग कमिशन लिने गलत प्रवृत्ति र अर्कोतर्फ बीमित कम्पनीमा कार्यरत कर्मचारीहरूमा पर्न गएको गलत संस्कारको शिकार निर्जीवन बीमा कम्पनीहरू हुन पुगेको देखिन आएको छ ।

अहिले बजारमा कतिपय बीमितहरूले नै खुलेआम २० प्रतिशतसम्म छुट माग्ने गरेको एक भुक्तभोगी सिईओ बताउँछन् । ‘पहिला त अलि सबैलाई थिएन उ त्यो कम्पनीले त यस्तो उपहार दियोसम्म भनेर नैतिक दबाव दिन्थे तर अहिले त खुलेआम कति प्रतिशत आउँछ भनेर सोध्न थालेका छन् ।’ ति सिईओले पछिल्लो अवस्था दर्शाउदै बीमापोष्टसँग भने ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणले क्यास ब्याकलाई पूर्णतः निषेध गरेको छ । केही महिना पहिले क्यासब्याक रोक्न व्यापक अभियान नै चलाएको थियो तर नियमनको क्रममा बिल र बीमापोलिसीहरू ट्यारिफ अनुसार नै रहेका थिए । के शीर्षकमा खर्च भइरहेका छन् भनेर पत्ता लगाउन कठिन भइरहेकाले थप छानबिनको क्रममा रहेको छ ।

अनौपचारिक बजार अनुगमनको क्रममा क्यासब्याक रहेको पाइएको छ । कतिपय कम्पनीहरूले कर्मचारीको रूपमा अन्य कम्पनीका कर्मचारीहरूलाई तलब भत्ता समेत पनि उपलब्ध गराउने गरेकोसम्म भेटिएको छ ।

एक क्षेत्रका ज्ञाताहरूले क्यासब्याकलाई अन्त्यन्तै खराब गतिविधिको रूपमा चित्रित गर्दै तत्काल बन्द गर्न नियामक बीमा प्राधिकरणले अभियान नै चलाउनुपर्ने बताउँछन् । आगामी दिनमा बीमा प्राधिकरणले बीमक कम्पनीबाट हुनसक्ने सम्भावित खर्चहरू कर्मचारी खर्च, कमिशन खर्च, एजेन्ट कमिशन खर्च, पाहुना तथा अतिथि सत्कार खर्च, होटलका बिलहरू, कार्यक्रम गरिएको हो वा होइन भन्ने स्पष्ट प्रमाणहरू समेत खोजेर नतिजामुखी अनुगमन आजको आवश्यकता बन्न आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*