१५ वर्षको लापरवाहीलाई पूर्णविराम: जाजरकोट–सुर्खेतका स्वास्थ्य भवन ठेक्का रद्द

काठमाडौँ । जाजरकोट र सुर्खेतमा डेढ दशकसम्म अधुरै छाडिएका स्वास्थ्य भवन निर्माणका परियोजनाहरूमा अख्तियारको कठोर कदम पुगेको छ। संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, सुर्खेतले करिब १४–१५ वर्षसम्म पनि काम सम्पन्न नगर्ने दुई निर्माण कम्पनीसँगको ठेक्का सम्झौता अन्त्य गरेको हो।
कार्यालयका अनुसार पटक–पटक म्याद थपेर अवसर दिए पनि ठेकेदार निर्माणस्थलमा नफर्किएपछि कानुनअनुसार सम्झौता तोडिएको बताइएको छ। कार्यालयले ‘श्री मैनाचुली/सुरुची जे.भी.’ र ‘श्री फ्राइण्डस् कन्स्ट्रक्सन प्रा.लि.’ लाई बारम्बार लिखित ताकेता गर्दा पनि उनीहरूका प्रतिनिधि लामो समयदेखि स्थलमै अनुपस्थित रहने गरेका थिए। स्वास्थ्य संरचना जस्तो संवेदनशील परियोजनामा देखिएको यस्तो लापरवाही स्थानीय पालिका, जनप्रतिनिधि र सर्वसाधारणको निरन्तर गुनासोका रूपमा उठ्दै आएको थियो।
जाजरकोटको सिमाराक्मास्थित प्रसूति कक्ष र सुर्खेतको गुटु हेल्थपोस्ट भवन निर्माणको जिम्मा पाएको ‘श्री मैनाचुली/सुरुची जे.भी.’ ले २०६७ सालमै सम्झौता गरेको थियो। तर करिब १५ वर्ष बितिसक्दा पनि संरचना निर्माण अधुरै रहेपछि कार्यालयले ठेक्का रद्द गरेको हो। सोही गरी जाजरकोटको मजकोट बडकुले स्वास्थ्य चौकी निर्माणका लागि २०६९ सालमा सम्झौता गरेको ‘श्री फ्राइण्डस् कन्स्ट्रक्सन प्रा.लि.’ ले पनि १४ वर्षसम्म भवन तयार पार्न नसकेपछि कारबाहीमा परेको कार्यालयले जनाएको छ।
सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९(७) बमोजिम ठेक्का तोडिएपछि अब उनीहरूबाट सरकारी बाँकी सरह रकम असुल–उपर गर्ने प्रक्रिया अघि बढाइएको कार्यालयले जानकारी दिएको छ।














