एयरबस ए-३२०मा सफ्टवेयर समस्या, विश्वभर उडान अवरुद्ध

१५ मंसिर २०८२, सोमबार १४:०४

काठमाडौँ । एयरबसले आफ्नो ए–३२० परिवारअन्तर्गतका करिब छ हजार विमानमा तत्काल सफ्टवेयर परिवर्तन आवश्यक परेको चेतावनी जारी गरेपछि विश्वभरका एयरलाइन्सहरूले उडान रद्द तथा ढिलाइको घोषणा गरेका छन्।

अक्टोबर महिनामा जेटब्लूको एक ए–३२० उडानमा देखिएको प्राविधिक खराबीको मूल्याङ्कनपछि एयरबसले आफ्ना ग्राहकहरूलाई ‘तत्काल सावधानी अपनाउन’ अनुरोध गरेको थियो। कम्पनीका अनुसार तीव्र सौर्य विकिरणले उडान नियन्त्रण प्रणालीमा महत्त्वपूर्ण डेटा बिगार्ने जोखिम रहेको छ। यसले हाल सेवामा रहेका ए–३२० का विमानहरूमा व्यापक असर पार्न सक्ने संभावना रहेको बताइएको छ।

एयरबसका अधिकारीहरूका अनुसार सफ्टवेयर अद्यावधिक धेरै विमानमा केही घण्टामै पूरा गर्न सकिन्छ, तर करिब एक हजार विमानमा यस प्रक्रिया हप्तौँसम्म लाग्न सक्ने अनुमान गरिएको छ। यसको प्रभाव विश्वभरका एयरलाइन्समा देखिन थालेको छ।

एयर फ्रान्सले शनिबार भने कति अतिरिक्त उडान रद्द हुने भन्ने गणना भइरहेको र प्रभावित यात्रुहरूलाई व्यक्तिगत रूपमा एसएमएस तथा इमेलमार्फत सूचित गरिने जनाएको छ। कम्पनीले शुक्रबार मात्रै ३५ उडान रद्द गरेको थियो। कोलम्बियाली एयरलाइन्स एभियाङ्काले आफ्नो करिब ७० प्रतिशत फ्लीट सफ्टवेयर समस्याबाट प्रभावित रहेको जनाएको छ।

युरोपियन युनियन एभियसन सेफ्टी एजेन्सी (इएएसए) ले एयरबसले समस्या सूचित गरेसँगै आवश्यक सुरक्षा उपायहरू लागू गर्ने जानकारी दिएको छ। एजेन्सीका अनुसार, “यी कदमहरूले उडान तालिकामा केही अवरोध ल्याउन सक्छन्, तर यात्रु सुरक्षा नै पहिलो प्राथमिकता हो।”

उडान नियन्त्रण कम्प्युटर उत्पादन गर्ने थेल्स कम्पनीले उपकरणहरू एयरबसका प्राविधिक विशिष्टताअनुसार प्रमाणित र सुरक्षित रहेको स्पष्ट पारेको छ। कम्पनीले सफ्टवेयर समस्या आफूसँग सम्बन्धित नभएको र पूर्ण रूपमा एयरबसको जिम्मेवारी भएको जानकारी दिएको छ।

अक्टोबर ३० मा जेटब्लूको ए–३२० विमानमा कम्प्युटर त्रुटि देखिएपछि नियन्त्रण कठिन भएको र क्यानकुन–नेवार्क मार्गमा उडान गर्दा विमान अचानक तल झरेको थियो। पाइलटहरूले आपतकालीन अवतरणका लागि फ्लोरिडाको टाम्पामा विमान ल्याउनुपरेको थियो। यस घटनामा केही यात्रु घाइते भएका थिए।

जेटब्लूले घटनाबारे प्रत्यक्ष टिप्पणी नगरे पनि ए–३२० र ए–३२१ मोडेलमा आवश्यक परिवर्तन सुरु गरेको जनाएको छ। अमेरिकन एयरलाइन्सले पनि करिब ३४० प्रभावित विमानमध्ये धेरैजसो शनिबारसम्ममा नियमित सेवामा फर्कने अपेक्षा व्यक्त गर्दै ढिलाइको चेतावनी जारी गरेको छ। युनाइटेड एयरलाइन्सले सुरुमा आफू प्रभावित नभएको बताएको भए पनि पछि छवटा विमानमा समस्या देखिएको र केही उडान प्रभावित हुने जानकारी दिएको छ। डेल्टा एयर लाइन्सले आवश्यक अद्यावधिक शनिबार बिहानसम्म पूरा गर्ने जनाएको छ।

एयर इन्डिया, एभियाङ्का, फिलिपिन्स एयरलाइन्स तथा सेबु प्यासिफिकलगायत क्यारियरहरूले पनि उडान ढिलाइ, रद्द र पुनःबुकिङका जानकारी क्रमशः सार्वजनिक गरिरहेका छन्। विशेषगरी फिलिपिन्समा शनिबार मात्र ४० भन्दा बढी घरेलु उडान रद्द गरिएको थियो।

ए–३२० एयरबस १९८८ देखि उत्पादन हुँदै आएको विश्वकै सबैभन्दा लोकप्रिय विमान हो। सेप्टेम्बरसम्म एयरबसले करिब १२ हजार २५७ विमान बिक्री गरेको छ, जुन बोइङ ७३७सँग तुलनायोग्य संख्या हो। यसको व्यापक प्रयोगका कारण विश्वभरका यात्रु र एयरलाइन्सहरू यस सफ्टवेयर समस्याबाट प्रभावित भएका छन्।

एयरबसले यस असुविधाप्रति क्षमायाचना गर्दै यात्रु सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*