डोटीमा एमाले महाधिवेशन प्रतिनिधि छनोटमा भाडभैलो, ओली–पोखरेल समूहबीच टक्राब

१५ मंसिर २०८२, सोमबार १४:२५

काठमाडौँ । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनका लागि डोटीमा प्रतिनिधि छनोट प्रक्रिया विवादित बनेको छ। जिल्ला नेतृत्वलाई पूर्ण अधिकार दिइएको यस प्रक्रियामा अध्यक्ष केपी शर्मा ओली समूह र नेता ईश्वर पोखरेल समूहबीच छुट्टाछुट्टै प्यानल बनाएर महाधिवेशन प्रतिनिधि चयन गरिएको हो ।

डोटीमा महाधिवेशन प्रतिनिधिका लागि १० जना चयन हुने व्यवस्था भए पनि ओली र पोखरेल पक्षले आफ्नै टिम बनाएर प्रतिनिधि चयन प्रक्रिया अघि बढाएका छन्। दुबै प्यानलले आफ्नो आधिकारिकता रहेको दाबी गर्दै समर्थन संकलनमा जुटेका छन्।

ओली पक्षबाट जिल्ला अध्यक्ष मञ्जु मलासीको नेतृत्वमा सुदूरपश्चिम प्रदेश सभा सदस्य चक्र मल्ल, जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष खगेन्द्र बडेला, उप–सचिव डम्बरसिंह डौडी, उप–सचिव विष्णा सिंह, पूर्व उपाध्यक्ष लक्ष्मण मलासी, बमबहादुर बामलगायतका नेताहरू सक्रिय छन्। उनीहरूले डोटीमा ओली प्यानलको स्पष्ट बहुमत रहेको दाबी गरेका छन्।

त्यस्तै, पोखरेल समूहबाट जिल्ला सचिव पदमराज भट्ट, प्रदेश सचिवालय सदस्य दीर्घराज बोगटी, पूर्व उप–सचिव कृष्णकुमार खड्का, पूर्व जिल्ला उपाध्यक्ष शेरबहादुर मल्ल र पूर्व विद्यार्थी नेता रुपा कठायतलगायतका नेताहरू सक्रिय छन्।

प्रतिनिधि छनोटको सम्पूर्ण जिम्मेवारी जिल्ला पदाधिकारीहरूलाई दिइएको थियो। प्रारम्भिक सहमतिमा अधिकांश पदाधिकारीहरू निर्विरोध सर्वसम्मत चयन भएको भनिए पनि सचिव पदम भट्टले ‘जबरजस्ती हस्ताक्षर गराइएको’ आरोप लगाएपछि विवाद चर्किएको छ। त्यसपछि दुवै पक्षबीच शक्ति प्रदर्शन, गठजोड र समर्थन संकलन झनै तीव्र भएको देखिन्छ।

डोटीमा तीव्र रूपमा चलिरहेको प्रतिनिधि छनोट गतिविधिले स्थानीय कार्यकर्तादेखि जिल्ला तहसम्म महाधिवेशन प्रतिनिधि छनोटको नतिजाप्रति उत्सुकता, प्रतिस्पर्धा र तनाव बढाएको देखिन्छ। हाल स्थानिय तहका एमाले निकट व्यक्तिहरु यो विवादलाई लिएर असन्तुष्ट रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*