जीवन बीमकको नवीकरण बीमाशुल्क आर्जन १६ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति?

१६ मंसिर २०८२, मंगलवार १२:२४

काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष (आव) को कात्तिक महीनासम्म ४९ अर्ब ४९ करोड ४५ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन्। गत आवको कात्तिक मसान्तसम्म कम्पनीहरूले ४२ अर्ब ६८ करोड ७६ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेकोमा त्यसको तुलनामा चालू आवमा १५.९५ प्रतिशतले बढेको हो।

नवीकरण बीमाशुल्क भनेको बीमितले बीमा गरेपछि उक्त बीमालाई सक्रिय राखिराख्न कम्पनीलाई मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा बुझाउने रकम हो। बीमा गर्दा पहिलोपटक तिरेको रकमलाई प्रथम बीमाशुल्क भनिन्छ भने बीमालाई सक्रिय राख्न समयसमयमा तिरिने रकमलाई नवीकरण बीमाशुल्क भनिन्छ।

कुन कम्पनीको कति?
चालू आवको चार महीनामा नेपाल लाइफले मात्रै १३ अर्ब ३३ करोड ३९ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ। दोस्रोमा नेशनल लाइफले ५ अर्ब ५८ करोड ६३ लाख रुपैयाँ, तेस्रोमा एलआईसी नेपालको ५ अर्ब ५३ करोड ६७ लाख रुपैयाँ, चौथोमा हिमालयन लाइफको ४ अर्ब ९५ करोड ९२ लाख रुपैयाँ र पाँचौंमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ।

त्यसैगरी सूर्यज्योति लाइफले २ अर्ब ८० करोड ९६ लाख रुपैयाँ, एशियन लाइफले २ अर्ब ३६ करोड ६६ लाख रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ९२ करोड २९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ७३ करोड ४२ लाख रुपैयाँ, मेट लाइफले १ अर्ब ६२ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ३७ करोड ७० लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब ३६ करोड ४१ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ३२ करोड ६१ लाख रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब १ करोड २१ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ।

वृद्धिदरको आधारमा
गत आवको कात्तिक मसान्तसम्म आर्जन गरेको नवीकरण बीमाशुल्कसँग सम्बन्धित कम्पनीले चालू आवको सोही अवधिमा आर्जन गरेको नवीकरण बीमाशुल्कसँग तुलना गर्ने हो भने राष्ट्रिय जीवन बीमा कम्पनीको २३८.३१ प्रतिशतले बढेको छ भने दोस्रोमा सिटिजन लाइफको को २१.७२ प्रतिशत र तेस्रोमा आइएमई लाइफको २०.६३ प्रतिशतले नवीकरण बीमाशुल्क आर्जन बढेको छ।

त्यसैगरी रिलायबल नेपालको २०.०१ प्रतिशत, सन नेपालको १६.१९ प्रतिशत, सूर्यज्योतिको १४.५२ प्रतिशत, नेशनलको १४.१६ प्रतिशत, सानिमा रिलायन्सको १२.८७ प्रतिशत, प्रभु महालक्ष्मीको ११.५५ प्रतिशत, मेटलाइफको १०.६८ प्रतिशत, एशियनको ६.९१ प्रतिशत, नेपालको ४.५० प्रतिशत, एलआईसीको ४.१८ प्रतिशत र हिमालयनको ४.४७ प्रतिशतले नवीकरण बीमाशुल्क आर्जन वृद्धि भएको छ।

लघु जीवन बीमा
यता तीन लघु जीवन बीमा कम्पनीहरू लिवर्टी माइक्रो लाइफले १ करोड १ लाख रुपैयाँ, क्रेष्ट माइक्रो लाइफले ६७ लाख रुपैयाँ र गार्डियन माइक्रो लाइफले ५५ लाख गरी चालू आवको चार महीनामा कुल २ करोड २४ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन्। गत आवको यसै अवधिमा लिवर्टी माइक्रोले साढे ४ लाख, क्रेष्ट माइक्रोले २ लाख ३७ हजार र गार्डियन माइक्रोले ६७ हजार रुपैयाँ गरी कुल ७ लाख ५३ हजार रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*