सर्वोत्तम स्टीलको वर्षदिनको व्यापार ८ अर्ब ७२ करोड: टीएमटी डन्डीको दबदबा, ६ अर्ब कर्जाका लागि रेटिङ

काठमाडौँ । ब्यवसायी बिष्णु न्यौपानेको कम्पनी सर्वोत्तम स्टीलले वर्षदिनको अवधिमा पौन ९ अर्ब रुपैयाँको व्यापार गरेको छ ।सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारीमा रहेको कम्पनीले सन् २०२४।०२५ मा ८ अर्ब ७२ करोड ६० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले गरेको व्यापार सन् २०२३।०२४ को तुलनामा २७.२३ प्रतिशत अर्थात् १ अर्ब ८६ करोड ८० लाख रुपैयाँले बढी हो । सो आर्थिक वर्षमा कम्पनीले ६ अर्ब ८५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । यसअघि कम्पनीले सन् २०२२।०२३ मा ७ अर्ब ७५ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो ।
प्राप्त आम्दानीमध्ये मुख्यतः टीएमटी डन्डीको बिक्रीबाट आम्दानी भएको छ । सन् २४ र २५ दुवैमा कुल सञ्चालन आम्दानीको ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । बाँकी आम्दानी बिलेट र बाइन्डिङ तारको बिक्रीबाट प्राप्त भएको हो ।
यता, कम्पनीको सञ्चालन नाफा मार्जिन सन् २०२४ मा ८.३६ प्रतिशत रहेको थियो जुन सन् २०२५ मा ८.३५ प्रतिशतमा झरे पनि अघिल्ला वर्षको तुलनामा स्थिर तथा मजबुत देखिन्छ ।
सर्वोत्तम स्टीलसँग कुल ७ लाख ६४ हजार १६० मेट्रिक टन वार्षिक उत्पादन क्षमता भएको उत्पादन संयन्त्र रहेको छ । जसमा ५१ प्रतिशत क्षमता बिलेट उत्पादनका लागि र ४८ प्रतिशत क्षमता टीएमटी उत्पादनका लागि र बाँकी क्षमता तार उत्पादनका लागि छुट्याइएको छ ।
कम्पनी सौरभ समूह अन्तर्गतको कम्पनी हो । कम्पनी सन् २०१७ को चैत महिनामा निजी लिमिटेड कम्पनीका रूपमा दर्ता भएको हो । त्यसभन्दा केही वर्षपछि सन् २०२१ को साउन महिनामा कम्पनी सार्वजनिक लिमिटेड कम्पनीमा परिणत भएको थियो । पर्सा जिल्लाको वीरगञ्जमा उद्योग रहेको कम्पनीको अध्यक्ष विष्णुप्रसाद न्यौपाने हुन् । निर्देशक उत्सव न्यौपाने र ममता शर्मालाई रहेका छन् ।
सन् २०२५ को कात्तिक महिनामा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले सर्वोत्तमलाई बैंकिङ सुविधाहरूलाई नयाँ रेटिङ प्रदान गरेको छ । कम्पनीले सञ्चालन गरिरहेको दीर्घकालीन तथा अल्पकालीन बैंक सुविधाको जोखिम मूल्यांकन गर्दै इन्फोमेरिक्स नेपालले छुट्टाछुट्टै रेटिङ निर्धारण गरेको हो ।
कम्पनीलाई दीर्घकालीन बैंक सुविधा (कुल मूल्य १ अर्ब ३ करोड ४६ लाख) लाई आईआरएन डबल–बी प्लस र अल्पकालीन बैंक सुविधा (कुल मूल्य ५ अर्ब ४१ लाख) लाई आईआरएन ए–फोर प्लस रेटिङ प्रदान गरेको छ । यससँगै कम्पनीका सम्पूर्ण बैंक सुविधाको कुल मूल्य ६ अर्ब ४४ करोड ४६ लाख पुगेको छ । यस रेटिङले कम्पनीको वित्तीय अवस्था, दायित्व तिर्ने क्षमता, बजार प्रतिस्पर्धा, संचालन संरचना र उद्योगगत जोखिमलाई समग्र रूपमा विश्लेषण गरेको इन्फोमेरिक्स नेपालले जनाएको छ ।













