गम्भीर त्रुटिले संकटमा हुन्डाई ब्रान्डः अन्तर्राष्ट्रिय बजारबाट लाखौं गाडी रिकल, नेपालमा पनि गुमाउँदै विश्वसनीयता

काठमाडौँ । नेपाली अटो बजारमा निरन्तर आगलागी र दुर्घटनामा परि रहेका हुन्डाई ब्रान्डका गाडीको अन्तर्राष्ट्रिय प्रतिष्ठा समेत कमजोर हुँदै गएको देखिएको छ । कोरियन कार निर्माता कम्पनी हुन्डाई पछिल्लो वर्षहरुमा गुणस्तर समस्याका कारण गम्भीर संकटमा परेको देखिएको हो ।
विद्युत प्रणाली बिग्रनु, ब्रेक काम नगर्नु, सफ्टवेयरको त्रुटि, क्यामेराको समस्या, ढोका बन्द नहुनेजस्ता कारणले बारम्बार हुन्डाई ब्रान्डका गाडी फिर्ता (रिकल) गर्ने गरेको छ । यी समस्याले उपभोक्तामाझ कम्पनीको विश्वास कमजोर बनाइरहेको छ । हेर्दा आकर्षक तर गुणस्तरमा गम्भीर समस्या रहेको हुन्डाई गाडीमा भएको त्रुटि एकपछि अर्को गर्दै बाहिर आइरहेको हो ।
गत वर्ष मात्र अमेरिकी बजारमा हुन्डाईले १ लाख ४५ हजार गाडी फिर्ता बोलाएको थियो। फिर्ता बोलाइएका गाडीहरूमा आयोनिक ५ र आयोनिक ६ इलेक्ट्रिक मोडेलसहित २०२२–२०२५ सम्मका जेनिसिसका जीभी६०, जीभी७० र जीभी८० इलेक्ट्रीफाइड भेरिएन्टहरू पनि समावेश थिए । यसबाट कम्पनीलाई करिब ५ अर्ब अमेरिकी डलर बराबरको आर्थिक भार परेको थियो ।
त्यसैगरी, गत वर्ष माघ महिनामा हुन्डाईले सन् २०१७–२०२३ का जेनेसिस जी७०, सन् २०२०–२०२३ का हुन्डाई कोना एन र आई३० सेडान एन गरी करिब ५ हजार गाडी फिर्ता बोलाएको थियो ।उच्च दबाब इन्धन पम्पमा रहेको इन्धन नियन्त्रण भल्भमा समस्या देखिएको कारणले उक्त कदम उठाइएको थियो ।
अस्ट्रेलियामा पनि कम्पनीले २०२२–२०२४ बीच निर्मित आयोनिक ६ गाडीहरू फिर्ता बोलाउने घोषणा गरेको छ । कुल एक हजार १९१ गाडी प्रभावित हुनेछन् । चार्जिङ पोर्टको ढोकासँग जोडिएको सुरक्षात्मक प्यानलमा समस्या देखिएको कारण कम्पनीले फिर्ता बोलाएको हो ।
सन् २०२५ नोभेम्बर महिनामा हुन्डाईले पछाडिको क्यामेरा समस्याका कारण १ लाख ४३ हजारभन्दा बढी सवारी साधन फिर्ता लिन लागेको छ । कम्पनीले सान्ता फे मोडेल र सान्ता फे हाइब्रिड गाडीहरू समावेश गरेर फिर्ता बोलाएको जनाएको छ । पछाडिको क्यामेरा ठीकसँग जडान नभएको हुन सक्ने, जसले तारहरूको हानिकारक असर र चित्र नदेखिने समस्या उत्पन्न हुन सक्ने भन्दै उक्त कदम चालिएको हो ।
सन् २०२५ को अक्टोबरमा अमेरिकामा हुन्डाईले १ लाख ३५ हजारभन्दा बढी गाडी फिर्ता बोलाएको थियो । फिर्ता बोलाइएका सान्ता फे गाडीहरूमा स्टार्टर मोटरको बी+ सकारात्मक टर्मिनलको कभर सही तरिकाले जडान नभएका कारण ठक्कर लाग्दा सर्ट सर्किट हुन सक्ने जोखिम देखिएको थियो । यसअघि सन् २०२३ मा पनि ब्रेक प्रणालीसँग सम्बन्धित जोखिमका कारण तीन लाखभन्दा बढी गाडी फिर्ता बोलाइएको थियो ।
सन् २०२०–२०२५ का मोडलहरूमा सट बेल्ट बकलमा समस्या देखिएपछि ५ लाखभन्दा बढी गाडी फिर्ता बोलाइएको थियो । हुन्डाई मोटर अमेरिकाले कुल ५ लाख ६८ हजार ५८० गाडी फिर्ता बोलाएको तथ्यांक सार्वजनिक गरेको छ । यी सबै उदाहरणहरूले मात्र हुन्डाईको अन्तर्राष्ट्रिय बजारमा बढ्दो कमजोरी र उपभोक्ताको अविश्वासलाई स्पष्ट रुपमा देखाउँछन् ।
कम्पनीले निरन्तर त्रुटि स्वीकार्दै गाडी रिकल गर्ने गरे पनि उपभोक्तामाझ हुन्डाई ब्रान्डप्रति अविश्वास बढ्दै गएको छ । बारम्बार फिर्ता बोलाउने प्रक्रिया र घटिरहेका गुणस्तरका कारण कम्पनीको बिक्री र प्रतिष्ठामा नकारात्मक असर परेको छ ।
नेपाली बजारमा हुन्डाई गाडीमाथि संकटः गुणस्तर र सुरक्षा विवादले बिक्रीमा धक्का
नेपाली अटो बजारमा हुन्डाई ब्रान्डप्रति उपभोक्ताको विश्वासमा गम्भीर संकट देखा परेको छ । लामो समयसम्म गुणस्तरीय, भरपर्दो र सुरक्षित गाडीको रूपमा स्थापित हुन्डाई अहिले लगातार आगलागीका घटनासँगै आलोचनाको केन्द्रबिन्दुमा पुगेको छ ।
पछिल्ला वर्षहरूमा हुन्डाई ब्रान्डका सवारी साधनमा आगलागीका घटनाहरू क्रमिक रूपमा घट्दै नगरेको र उपभोक्तामाझ डर र अविश्वास बढेको देखिन्छ । २०८१ वैशाख ३ गते बिर्तामोडको बीच सडकमा ‘भेन्यू’ मोडलको गाडी एकाएक आगोले जलेर नष्ट भएको घटना सार्वजनिक भयो । त्यस्तै, गत भदौ १२ गते पोखरास्थित गण्डकी मेडिकल कलेज नजिकै पार्किङ गरिएको ग्रान्ड आई१० गाडी पनि आफैँ आगलागीमा परेको देखियो ।
गुणस्तरहीन हुन्डाई ‘आइओनिक ५’ धमाधम बिक्री गर्दै लक्ष्मी मोटर्स, ग्राहकको सुरक्षामा खतरा
२०८२ साउन १ गते गल्छि–सितापाइला सडक हुँदै काठमाडौं आइरहेको ‘क्रेटा’ गाडी अचानक आगोले प्रभावित भयो । यी घटनाहरूले नेपाली उपभोक्तामाझ हुन्डाई गाडीको सुरक्षा र गुणस्तरप्रति ठूलो शंका उत्पन्न गरेको छ ।
हुन्डाईका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टले बिक्री गर्दै आएको भएपनि नेपाली बजारमा ब्रान्डको प्रतिष्ठा गम्भीर क्षतिग्रस्त भएको छ । आगलागीका श्रृंखलाबद्ध घटनाले गाडी जस्तो संवेदनशील र सुरक्षासँग जोडिएको उत्पादनमा उपभोक्तामाथि धोका बढाएको तथ्य बाहिर आएको छ । यस घटनाक्रमसँगै हुन्डाई ब्रान्ड प्रति अविश्वास बढ्दो क्रममा रहेको छ । बिक्री घटेसँगै लक्ष्मी इन्टरकन्टिनेन्टको व्यापार पनि प्रभावित भएको छ । अटो बजारमा लामो समय दबदबा कायम राख्दै आएको हुन्डाई अहिले नेपाली बजारमा आफ्नो विश्वासको संकटमा फस्न पुगेको छ ।
गुणस्तरीय गाडीको नाममा धोका: बिच सडकमै जल्छन् हुन्डाई ब्रान्ड, ढाकछोपमा ब्यस्त बिक्रेता कम्पनी













