अनिश्चित बाटोमा पुँजी बजारः डुब्दै लगानीकर्ताको लगानी, सकारात्मक माहोलमा पनि किन सुस्त ?

१७ मंसिर २०८२, बुधबार १५:०९

काठमाडौँ । पछिल्ला केहि दिन यता पुँजी बजार निरन्तर खुम्चिएको छ । बजार लगातार ओरालो लाग्दा लगानीकर्ता निराश देखिएका छन् । बजार घट्दा उनीहरुको लगानी बालुवामा पानी झैँ चलेको अनुभव भएको छ । हाल पुँजी बजार अझै अनिश्चित बाटोमा अघि बढिरहेको छ केही कम्पनीले आईपीओ निष्कासन गरी भर्खरै नेप्सेमा सूचीकृत भएका शेयर मात्रै सर्किट लागेका छन् भने अन्य कम्पनीको शेयर मूल्य स्थिर अवस्थामा रहेको छ । यसले लगानीकर्तामा हैरानी उत्पन्न गरेको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमासिक मौद्रिक नीतिको समिक्षा सार्वजनिक गरेपनि बजारमा सुधार आएको छैन । लगानीकर्ताले उठाएका माग सम्बोधन हुन नसक्दा बजारले अपेक्षित सुधार देखाउन सकेको छैन । जेन जी आन्दोलनपछि गठन भएको सरकारले पुँजी बजार सुधारका लागि समिति गठन गरेको थियो ।सो समितिले दिएको सुझाव अनुसार राष्ट्र बैंकले नीति ल्याएको भए पनि समिक्षामा ठूला परिवर्तन देखिएका छैनन् ।

लगानीकर्ताले बैंकमार्फत शेयर खरिद गर्दा लाग्ने कर्जामा कडाइ हटाउनुपर्ने र कोर क्यापिटलको ४० प्रतिशतसम्म मात्रै मार्जिन कर्जा दिन पाउने व्यवस्था खारेज गर्नुपर्ने माग राखेका थिए। यी माग पूरा नभएकाले बजार केही सुस्त रहेको विश्लेषकहरूले बताएका छन् ।

बजारमा अस्थिरता अझै कायम छ । राजनीतिक अस्थिरता, आगामी आन्दोलनका खबर तथा बैंक तथा वित्तीय संस्थाको प्रथम त्रैमासिक विवरणले लगानीकर्तामा जोखिमको भावना बढाएको छ । धेरै बैंकको नाफा घटेको र खराब कर्जा बढेको तथ्यले दीर्घकालीन लगानीकर्तालाई सतर्क बनाएको छ ।

विश्लेषकहरूले बजारको अस्थिरतालाई ठूला लगानीकर्ता र माफिया समूहसँग जोडेर व्याख्या गर्न थालेका छन् । पछिल्ला दिनका गतिविधिले देखाएको छ कि बजार अस्थिर बाटोमा अघि बढिरहेको छ र लगानीकर्ता अब शेयर बजारबाट एक्जिट हुन खोजिरहेका छन् । बजार लामो समय सुस्त रहँदा यसले बजारमा नकारात्मक प्रभाव पारेको छ ।

हाल नीति र नियामक निकायहरू सकारात्मक देखिए पनि बजारमा सुधार आउन सकेको छैन । लगानीकर्ताको मनोबल कमजोर हुनुले बजार निरन्तर खुम्चिँदै गएको हो । बजार सुधारका लागि अझै समय र विश्वास आवश्यक रहेको विश्लेषकहरूले बताएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.५२ अकंले घटेर २६३१.१७ बिन्दुमा कायम भएको छ । ३३२ कम्पनीको १ करोड ८ लाख ७३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

यसदिन ९ उपसूचक राताम्य भएका छन् । वाणिज्य बैंक समूहको ०.७५ प्रतिशत, विकास बैंक समूहको ०.५७ प्रतिशत, हाइड्रोपावर समूहको ०.५० प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.५१ प्रतिशत, जीवन बीमा समूहको १.१८ प्रतिशतले शेयर मूल्य घटेको छ ।

बुधबार ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ कम्पनीको घटेको छ । ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*