अर्थमन्त्री खनाल भने ‘कालोसूचीमा धेरैको नाम पर्नु अर्थतन्त्रका लागि चिन्ताको विषय हो’

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले धेरै व्यक्तिहरूको नाम कालोसूचीमा पर्नु सरकार र बैंक प्रणाली दुबैका लागि चिन्ताको विषय भएको बताएका छन्।
बुधबार राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले भने, “कुनै पनि देशका धेरै नागरिकहरू कालोसूचीमा पर्नु राम्रो कुरा होइन। यसले उत्पादनशील क्षेत्रमा लगानी र रोजगार सिर्जनामा बाधा पुर्याउँछ।”
उनका अनुसार, कालोसूचीमा धेरै व्यक्ति नपरेको भए बैंक तथा वित्तीय संस्थाले बढी कर्जा प्रवाह गर्न सक्थे। तर, हाल तरलता पर्याप्त भए पनि ग्रामीण क्षेत्र, विपन्न वर्ग र प्राथमिकतामा पर्ने क्षेत्रमा जाने कर्जा प्रवाह हुन सकेको छैन।
खनालले भने, “खासगरी कृषिमा जाने कर्जा र ब्याज अनुदानका रकम सरकारले भुक्तानी नदिँदा १० अर्ब रुपैयाँ बाँकी थियो। यस कारण बैंकहरूले थप लगानी गर्न सकेनन्। तर, जिम्मेवारी सम्हालेपछि १० अर्ब रुपैयाँ अनुदान निकासा गरिएको छ।”
उनले आगामी दिनमा ग्रामिण क्षेत्रमा कर्जा वृद्धि हुने र यसले तरलता केही घटाउने विश्वास व्यक्त गरे। साथै, अर्थमन्त्री खनालले बेरुजु कम गर्न प्रभावकारी कदमहरू अघि बढिरहेको जानकारी पनि दिए।













