अन्डरपास र फ्लाइ ओभर बनाउन जापानले ३१ अर्ब ऋण दिने

काठमाडौं । कोटेश्वर चोक क्षेत्रको यातायात जाम कम गर्दै समग्र उपत्यकाको सडक क्षमता विस्तार गर्ने उद्देश्यले नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाका लागि सहुलियतपूर्ण ऋण सम्झौता भएको छ। अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा सम्झौतामा औपचारिक रूपमा हस्ताक्षर गरिएको हो।
सम्झौता अनुसार जापानले जाइकामार्फत ३४.५९ अर्ब जापानी येन (झन्डै ३१.७६ अर्ब रुपैयाँ) बराबरको ऋण सहायता नेपाललाई उपलब्ध गराउनेछ। उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष रहनेछ भने वार्षिक ब्याजदर ०.२ प्रतिशत रहनेछ।
आयोजनाअन्तर्गत कोटेश्वर र जडीबुटी आसपासको अति व्यस्त खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ। यसले काठमाडौं, ललितपुर, भक्तपुरसहित बीपी राजमार्गतर्फ गइरहने सवारी आवागमनलाई सहज आणि व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। परियोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन हुनेछ।
सम्झौतासँग सम्बन्धित एक्स्चेन्ज अफ नोटमा अर्थ सचिव डा. घनश्याम उपाध्याय र नेपालका लागि जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरे। त्यस्तै ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सह–सचिव डा. धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरेका हुन्।
समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले नेपाल–जापानबीचको दीर्घकालीन सहकार्यलाई अझ परिणाममुखी बनाइने उल्लेख गर्दै, यातायात क्षेत्रको सुधारका लागि जापानले प्रदान गरेको समर्थन महत्वपूर्ण रहेको बताए।













