१ लाख १८ हजार नक्कली नोटसहित ३ जना व्यक्ति पक्राउ
१८ मंसिर २०८२, बिहीबार ०८:४६

काठमाडौं । प्रहरीले १ हजार दरका ११८ थान (१ लाख १८ हजार रुपैयाँ) नक्कली नोट सहित ३ जना व्यक्तिलाई रौतहटबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा देवाही गोनाही नगरपालिका–४ बस्ने २० वर्षीय अजय पटेल, २१ वर्षीय गेनालाल पटेल र भारत बिहार मोतिहारी पूर्वी चम्पारण–२ कुडवा चैनपुर बस्ने २३ वर्षीय जयप्रकाश कुमार रहेका छन्।
उनीहरूलाई प्रहरी चौकी मठिया महुलिया समेतबाट खटिएको प्रहरीको टोलीले रौतहटको ईशनाथ नगरपालिका–४ लत्मरी टोलबाट मंगलबार दिउँसो पक्राउ गरेको हो।
बीआर ०५क्ष् एटी ०९८३ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँचको क्रममा नक्कली नोट फेला परेपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। अहिले उनीहरूलाई हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।













