कोरियन लगानीमा स्थापित एसवाई प्यानल, सुदृढ वित्तीय अवस्थाले मच्चाउला शेयर बजारमा तान्डव ?

१८ मंसिर २०८२, बिहीबार १२:१९

काठमाडौँ । २०७२ सालको विनाशकारी भूकम्पले मुलुकभर अत्यधिक क्षति पु-यायो । हजारौँ नागरिकले ज्यान गुमाए, लाखौँ घाइते भए र असंख्य संरचनाहरू भत्किए । विपद्पछि देशभर ‘भूकम्प प्रतिरोधी सामग्री’ र सुरक्षित आवासको आवश्यकता तीव्र रूपमा बढ्यो । यही आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यका साथ २०७४ साल असार २० गते नेपालमा एसवाई प्यानल कम्पनी स्थापना भयो ।

दक्षिण कोरियाका नागरिक बाङ योन जाई र लि वा चुनको नेतृत्वमा एसवाई को. लिमिटेड (तत्कालीन एसवाई प्यानल कम्पनी लिमिटेड), दक्षिण कोरिया संस्थापक कम्पनीका रूपमा रहेको एसवाई प्यानलले उच्च प्राविधिक क्षमतासहितको लगानी नेपालमा भित्र्यायो ।

नेपालको निर्माण क्षेत्र तीव्र आधुनिकिकरण हुँदै गएको समयमा एसवाई प्यानलले दुई फरक उत्पादन ईकाइमार्फत उच्च गुणस्तरीय सामग्री बजारमा ल्याउँदै आएको छ । स्यान्डविच इपिएस प्यानल उत्पादन उद्योग २०७४ साउन १२ गते र यूपिभिसि झ्याल तथा ढोका उत्पादन उद्योग २०७४ कात्तिक २० गते दर्ता भई सञ्चालनमा आएका थिए । यी दुवै उत्पादन यतिबेला नेपाली निर्माण उद्योगको पहिलो रोजाइ बन्दै गएका छन् ।

इपिएस प्यानल ऊर्जा–दक्ष, हल्का, दिगो र छिटो निर्माणयोग्य भएकाले घर, अस्पताल, विद्यालय, गोदामदेखि उद्योगसम्म विभिन्न संरचनामा प्रयोग बढ्दै गएको छ । यूपिभिसि झ्याल–ढोकाले घरलाई ध्वनि रोधक, पानी सुहाउँदो र दीगो बनाउने भएकाले यसको माग दिनप्रतिदिन फैलिँदो छ । उत्पादन प्रविधिले नेपाली उपभोक्तालाई गुणस्तरीय सामग्री सुलभ मूल्यमा उपलब्ध गराएको छ । भूकम्पले दिएको सबैभन्दा ठूलो सन्देश सुरक्षित संरचना निर्माण हो । यही भावनालाई आत्मसात् गर्दै एसवाई प्यानलले आफ्ना उत्पादनहरूलाई भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि उपयुक्त बनाउँदै आएको छ । कम्पनीको लक्ष्य केबल आधुनिक सामग्री बेच्ने मात्र नभई ‘सुरक्षा, मजबुती र दीगो विकास’ को संस्कृतिलाई निर्माण क्षेत्रभर विस्तार गर्नु पनि हो ।

कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौँ महानगरपालिका–३२, तिनकुने मा रहेको छ भने मुख्य उद्योग चितवनको रत्ननगर नगरपालिका–१४ मा सञ्चालनमा छ । उत्पादन क्षमता र वितरण सञ्जाल विस्तारसँगै एसवाई प्यानल अहिले देशभर करिब ५० भन्दा बढी सक्रिय डिलर नेटवर्क मार्फत आफ्नो सेवा विस्तार गरिरहेको छ ।

कम्पनीले आफ्नो लगानीलाई विविधिकरण गर्दै एसवाई बजार प्रा. लि. तथा एसवाई युपिभिसि प्रोफाइल प्रा. लि मा समेत महत्वपूर्ण लगानी गरेको छ ।  एसवाई प्यानलले २०७९ असार ८ गते प्रा. लि. बाट रूपान्तरित भई सार्वजनिक कम्पनी (पब्लिक) को रूपमा दर्ता भयो । प्यानलले नेपाली निर्माण क्षेत्रमा ल्याएको आधुनिक प्रविधि, गुणस्तरीय उत्पादन र समयमै डेलिभरी सेवाले व्यावसायिक, आवासिय तथा औद्योगिक भवन निर्माणमा सकारात्मक परिवर्तन ल्याइरहेको छ । आज नेपालमा ऊर्जा–दक्ष र सुरक्षित निर्माणको ट्रेन्ड फस्टाइरहनुमा कम्पनीले गरेको योगदान महत्वपूर्ण छ ।

आईपीओ मार्फत थप विस्तारको रणनीति

स्वदेशी निर्माण सामग्री उत्पादनमा सक्रिय एसवाई प्यानल नेपाल लिमिटेड अहिले पूँजी बजारको केन्द्रमा छ। जारी पूँजी १ अर्ब ३० करोड रुपैयाँभन्दा माथि पुगेको कम्पनीले सो जारी पूँजीको ४० प्रतिशत अर्थात् ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेसँगै अब नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुने अन्तिम तयारीमा जुटिरहेको छ । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलले शेयर सूचीकृतका लागि आवश्यक सम्पूर्ण कागजी प्रक्रिया पूरा गर्दै अन्तिम चरणमा पुगेको जानकारी गराएको छ

कम्पनीले निष्कासन गरेको कुल ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर विभिन्न समूहका लगानीकर्तामध्ये बाँडफाँड गरिएको छ । उद्योग प्रभावित क्षेत्रका स्थानीय नागरिकका लागि २ प्रतिशत र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत हिस्सा निष्कासन गरेको थियो । बाँकी शेयरमध्ये ३ प्रतिशत कम्पनीका कर्मचारीहरूका लागि र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । ४० लाख ४६ हजार १५८ कित्ता शेयर भने सर्वसाधारणका लागि खुला गरिएको थियो ।

एसवाई प्यानलले सार्वजनिक निष्काशनमार्फत् जुटेको पूँजी स्वदेशी उत्पादन उद्योगमै परिवर्तन ल्याउने रणनीतिक लक्ष्यसँग जोडिएको छ । यो पूँजीले मुख्य कम्पनीसँगको सहकार्यमा नयाँ युपिभिसि उद्योग स्थापनामा महत्वपूर्ण भूमिका खेल्नेछ । यसमार्फत् कम्पनीले युपिभिसि प्रोफाइल उत्पादन सुरु गर्ने तयारी गरिरहेको छ ।

हाल नेपालमा युपिभिसि प्रोफाइलका अधिकांश सामग्रीहरू आयातमा निर्भर छन् । आयात प्रतिस्थापन हुँदै स्वदेशमै उत्पादन सुरु हुने हो भने यसले केबल निर्माण उद्योगमै नयाँ ढोका खोल्नेछ । यस्तै स्वदेशी उत्पादनमा लागत घट्दै जाने, निर्माण सामग्री क्षेत्रको दिगो विकास र उद्योगमा रोजगारी सिर्जना हुनेजस्ता लाभ पनि कम्पनीले देखाएको छ । आईपीओबाट उठेको रकमको केही हिस्सा कम्पनीले चालु पूँजी व्यवस्थापनका लागि उपयोग गर्नेछ । आर्थिक वर्ष २०८२/८३ का लागि प्रक्षेपित चालु पूँजी आवश्यकता १३ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ रहनेछ । यो रकम व्यवसाय विस्तारसँगै बढ्ने कारोबार तथा व्यापार प्राप्ति व्यवस्थापन र स्टक मौज्दात व्यवस्थापनमा खर्च गरिनेछ ।

करिब ३९ करोड रुपैयाँ कम्पनीले एसवाई युपिभिसि प्रोफाइल प्रा.लिमा शेयर लगानी गर्ने योजना अगाडि सारेको छ । यस लगानीले युपिभिसि प्रोफाइल उत्पादन परियोजनालाई सशक्त बनाउँदै बजारमा उपलब्ध आयातमुखी उत्पादनलाई प्रतिस्थापन गर्न सहयोग पु-याउनेछ । एसवाई प्यानल नेपाल लिमिटेडले सार्वजनिक निष्काशनपछि हासिल गर्ने पूँजी सुदृढीकरण र नयाँ परियोजनामा लगानीले कम्पनीलाई देशको प्यानल उद्योगमा अग्रणी बनाउने लक्ष्य राखेको छ। कम्पनीले उच्च गुणस्तरका प्यानल तथा युपिभिसि प्रोफाइल बजारमा सहज उपलब्ध गराउँदै स्वदेशी प्यानल उद्योगलाई प्रतिस्पर्धी, दिगो र आधुनिक मोडेलतर्फ डो-याउने उद्देश्य राखेको छ।

कस्तो छ वित्तीय आंकडा ?

पछिल्ला वर्षहरूमा वित्तीय रूपमै सुदृढ बन्दै आएको कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म उल्लेखनीय प्रगति हासिल गरेको छ । अपरिष्कृत वित्तीय विवरणले देखाएअनुसार कम्पनीको सञ्चित नाफा १२ करोड १० लाख ३३ हजार रुपैयाँ पुगेको छ । वित्तीय स्थायित्वका महत्वपूर्ण सूचकहरूमध्ये मानिने प्रतिशेयर नेटवर्थ पनि सुधारिएको देखिन्छ । गत वर्षको समाप्तिसम्म यो ११५ रुपैयाँ ४२ पैसामा उक्लिएको छ भने प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८१ पैसा रहेको हो ।

यसअघि अघिल्लो आर्थिक वर्षको अन्त्यमा कम्पनीको सञ्चित नाफा ५ करोड १८ लाख ८८ हजार ९८९ रुपैयाँ थियो । सोही अवधिमा प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ६१ पैसा र प्रतिशेयर आम्दानी ५ रुपैयाँ ३५ पैसा थियो । यी सूचकसँग तुलना गर्दा कम्पनीले एक वर्षमै उल्लेखनीय सुधार गरेको छ । नाफा, नेटवर्थ र आम्दानी तीनै सूचकमा देखिएको वृद्धि कम्पनीको सञ्चालन कार्यक्षमता र बजारमा बढ्दो विश्वासको संकेत मानिन्छ ।

कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा नाफा २२ करोड ८३ लाख ४४ हजार रुपैयाँ पुग्ने अनुमान गरिएको छ । साथै, प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ ४६ पैसा र प्रतिशेयर आम्दानी ९ रुपैयाँ २१ पैसा हुने सम्भावना देखाइएको छ ।

सञ्चित नाफामा दोब्बरभन्दा बढी वृद्धि हुने अनुमान र नेटवर्थमै निरन्तर सुधार हुने आँकलनले कम्पनी आगामी वर्षमा झनै प्रतिस्पर्धी र बलियो बन्ने संकेत दिएको हो ।

मच्चाउँला शेयर बजारमा तान्डब ?

दक्षिण कोरियाली प्रविधि, व्यवस्थापन र पूँजीको समिश्रणमा स्थापना भएको एसवाई प्यानल नेपाल अब नेप्सेमा सूचीकृत हुने अन्तिम तयारीमा पुगेको छ । युनिलिभर नेपाल र बोटलर्स नेपालपछि प्रत्यक्ष विदेशी लगानी भएको उत्पादनमूलक कम्पनीले शेयर बजारमा प्रवेश पाउने भएसँगै लगानीकर्तामाझ उत्साह थप चुलिएको छ । विदेशी लगानी, प्राविधिक दक्षता, निर्यात सम्भावना र उत्पादन विस्तारको योजनाले भरिएको यस कम्पनीप्रति बजारको चासो निरन्तर उच्च बनेको छ ।

नेप्सेले एसवाई प्यानलको पहिलो कारोबारका लागि १०६ रुपैयाँ ६१ पैसादेखि ३१९ रुपैयाँ ८३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गर्ने देखिन्छ । सामाजिक सञ्जालदेखि लगानी समूहहरूसम्म एसवाई प्यानलको शेयरकोबारे चर्चा उल्लेखनीय रूपमा बढ्दै गएको छ।

गुणस्तरीय प्यानल तथा प्रिफ्याब सामग्री उत्पादन गर्दै आएको एसवाई प्यानलले विदेशी प्रविधि र दक्ष व्यवस्थापनमार्फत नेपालमा निर्माण क्षेत्रलाई नयाँ स्तरमा पु¥याइरहेको छ। कम्पनीले आफ्ना उत्पादनलाई अझ धेरै उपभोक्तासम्म पु¥याउन देशभर ब्रान्ड जागरुकता अभियान विस्तार गर्ने रणनीति बनाएको छ। उत्पादन क्षमता वृद्धिसँगै लागत घटाउने तथा उत्पादनलाई प्रतिस्पर्धी दरमा उपलब्ध गराउने योजना पनि कम्पनीले अघि सारिरहेको छ। यी योजनाले कम्पनीको स्थायी वृद्धि र कारोबार विस्तारलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।

एसवाई प्यानल नेपालले भारतको बजारलाई लक्षित गर्दै निर्यात विस्तार गर्ने दीर्घकालीन योजना बनाएर अघि बढिरहेको छ। दक्षिण एसियामा प्यानल उत्पादनको माग विस्तार हुँदै गएको परिदृश्यमा कम्पनीले आफ्ना उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा विश्वसनीय ब्रान्डका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ। यसका लागि कम्पनीले नयाँ प्रविधि भित्र्याई स्वचालन प्रक्रियालाई प्रभावकारी बनाउने, डिलर नेटवर्क बढाउने र सञ्चालन दक्षता वृद्धि गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ। यी कदमहरूले बजारमा त्यसको उपस्थिति अझ मजबुत बनाउनेछ।

नेप्से प्रवेशअघि नै बजारमा बढिरहेको चर्चा र लगानीकर्ताको सकारात्मक धारणा हेर्दा एसवाई प्यानलले शेयर बजारमा उल्लेखनीय सुरुवात गर्ने अपेक्षा गरिएको छ। प्रत्यक्ष विदेशी लगानी, प्रविधिगत आधुनिकीकरण, उत्पादन विस्तार र निर्यात सम्भावनाले भरिएको व्यवसायिक यात्राले कम्पनीलाई दीर्घकालीन रूपमा पनि आकर्षक बन्न मद्दत गर्ने विश्लेषकहरूको बुझाइ छ ।

सम्बन्धीत समाचार

एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन, अपार्टमेन्टमा पनि इन्सुलेशनको लागि प्रयोग गर्न मिल्ने

आइपीओ निष्कासनको तयारीमा रहेको एसवाई प्यानलको वित्तीय प्रदर्शनमा उल्लेख्य वृद्धि, आम्दानी ६३ करोड

एसवाई प्यानल आईपीओ ल्याउँदै, ब्रान्ड विस्तारका लागि ‘फेस अफ एसवाई’ मा करोडौंको प्रतिस्पर्धा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*