लामो दूरीका गाडी बसपार्कबाट मात्रै छुट्ने

१८ मंसिर २०८२, बिहीबार १२:४२

काठमाडौं। काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक जाम नियन्त्रणका लागि ट्राफिक प्रहरीले नयाँ नियम लागू गरेको छ। अब उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट मात्रै छुट्न सक्ने व्यवस्था गरिएको छ।

हालका दिनमा लामो दूरीका सवारी साधनले सडक किनारमा यात्रु चढाउने–ओराल्ने कार्य बढाएपछि पिक आवरमा जाम तीव्र भएको देखिएको छ। सडकमा भीड बढेपछि आवागमनमा समस्या बढेकाले नियमको कडाइ जरुरी भएको हो।

लामो दूरीका सवारी साधनलाई दिइँदै आएको बाटो इजाजतपत्रसमेत पुनरावलोकन गर्नुपर्ने देखिएको छ। उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार गर्न सम्बन्धित निकायहरू बीच समन्वय र आवश्यक पहलहरू अघि बढाइने तयारी भइरहेको छ।

सडक अनुशासन मजबुत बनाउन रातो बत्ती उल्लङ्घन, लेन क्रस, तीव्र गति तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकका लागि अनिवार्य सचेतना कक्षा सञ्चालनमा ल्याइएको छ। सेवाग्राहीलाई सजिलो पहुँच दिन अनलाइन सचेतना कक्षासमेत सुरु गरिएको छ।

नयाँ व्यवस्था लागू भएपछि अव्यवस्थित पार्किङ, अनावश्यक रोकावट र यात्रु व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ। उपत्यकामा सहज र व्यवस्थित आवागमन सुनिश्चित गर्न ट्राफिक प्रहरी सक्रिय रुपमा काम गर्दैछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*