भारतीय १०० रुपैयाँभन्दा माथिका नोट नेपालमा चलाउने अनुमति

काठमाडौँ । भारतीय केन्द्रीय बैंक भारतीय रिजर्भ बैंकले नेपालमा १०० रुपैयाँभन्दा माथिका भारतीय नोट चलनचल्तीमा ल्याउन अनुमति दिएको छ। आरबीआईले भारतीय राजपत्रमा सूचना प्रकाशित गर्दै नेपालमा लागू गरिएको पुरानो प्रतिबन्ध हटाएको घोषणा गरेको हो।
भारतले सन् २०१६ मा नोटबन्दी घोषणा गरेपछि उच्च दरका नोट अवैध बनेका थिए। त्यसपछि २ हजार दरका नयाँ नोट छापिए पनि सन् २०२३ देखि ती नोट छापिन छोडिएको छ। हाल भारतमा १०० रुपैयाँभन्दा माथि ५०० र १,००० दरका नोट चलनमा रहेका छन्। प्रतिबन्ध हटेसँगै नेपाल आउने व्यक्तिहरूले २५ हजार भारतीय रुपैयाँसम्म साथमा ल्याउन पाउने व्यवस्था यथावत् रहने आरबीआईले स्पष्ट पारेको छ।
खुला सीमाना तथा २५ हजार रुपैयाँसम्मको सीमा भएकै कारण नेपाल भ्रमणमा आउने भारतीय पर्यटकले १०० रुपैयाँभन्दा माथिको नोट नेपालमा खर्च गर्न नपाउँदा अक्सर असहज महसुस गर्दै आएका थिए। अब प्रतिबन्ध हटेसँगै भारत हुँदै नेपाल आउने विदेशी पर्यटक तथा भारतीय नागरिकलाई वित्तीय कारोबारमा सहजता हुनेछ।













