विदेशी रोजगारीको नाममा १ करोड ३० लाखभन्दा बढी ठगी गर्ने ३ जना पक्राउ

काठमाडौँ । विदेशी रोजगारीमा आकर्षक तलबकाे प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले मंगलबार र बुधबार अलग–अलग स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–५ बस्ने, चितवन कालिका नगरपालिका–८ घर भएका ४० वर्षीय श्याम चन्द्र अधिकारी, काठमाडौं महानगरपालिका–२६ बस्ने, नवलपरासी पश्चिम बर्दघाट नगरपालिका–१ घर भएका ४४ वर्षीय दिल बहादुर सारू मगर र ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने, सर्लाही ब्रह्मपुरी गाउँपालिका–२ घर भएका ३५ वर्षीय चन्द्र भुसण प्रसाद रहेका छन्।
प्रहरीका अनुसार श्याम चन्द्र अधिकारीले अल्बानिया, अजरबैजान, मेसोडोनिया, सर्बिया लगायतका देश पठाइदिन्छु भन्दै ६ जना पीडितबाट करिब १ करोड २५ लाख ७८ हजार ८ सय रुपैयाँ उठाएर सम्पर्कविहीन बनेका थिए। त्यस्तै, दिल बहादुर सारू मगरले सर्बिया पठाइदिन्छु भन्दै ६ जनाबाट ४ लाख ५० हजार रुपैयाँ र चन्द्र भुसण प्रसादले अल्बानिया पठाइदिन्छु भन्दै ४ जनाबाट ३ लाख ८० हजार रुपैयाँ लिएर फरार भएका थिए।
पीडितहरूले दिएको उजुरीकाे आधारमा अनुसन्धान थालेको प्रहरीले श्याम चन्द्रलाई ललितपुर महानगरपालिका–५ बाट मंगलबार, दिल बहादुरलाई काठमाडौं महानगरपालिका–२६ बाट बुधबार र चन्द्र भुसणलाई ललितपुर महानगरपालिका–५ बाट बुधबार नियन्त्रणमा लिएको हो।













