रिलायन्स मिल्सको प्रदूषणको मारमा खनार बस्ती, गोल्यान ग्रुपको मनपरीले गाउँमा दुर्गन्ध-पानीमा विष!

काठमाडौँ । कानुनी यन्त्र प्रयोग गरी आईपीओ प्रक्रियामा अघि बढेको गोल्यान ग्रुपले संचालित रिलायन्स स्पिनिङ मिल्सले स्थानिय सर्वसाधारणलाई भने सास्ती दिने गरेको पाइएको छ । रिलायन्सको उद्योग अवस्थित क्षेत्रमा स्थानीयबासी दिनदिनै रोग, दुर्गन्ध र प्रदूषणसँग लडिरहेको खुलेको हो ।
डेढवर्ष अघि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ प्रस्ताव संघीय संसदको सार्वजनिक लेखा समितिमा प्रश्न उठेपछि केही समयका लागि रोकिएको थियो । चौतर्फी दबाब र आईपीओ स्वीकृत गर्दा घोटाला भएको विषयहरू उठेपछि समितिले धितोपत्र बोर्डसँग सो सम्बन्धमा स्पष्टिकरण मागेको थियो । जस कारण बोर्डले पनि कम्पनीको आईपीओ प्रक्रिया रोक्ने निर्णय गरेको थियो ।
सो पश्चात डेडिकेटेड र ट्रंकलाइनको बक्यौता शुल्कको विवादका विषयमा मिल्सले अदालतमा रिट दायर थियो । उच्च अदालत पाटनले कम्पनीलाई नेपाल विद्युत् प्राधिकरणविरुद्ध अन्तरिम आदेश दिए सँगै नेपाल धितोपत्र बोर्डले आईपीओ प्रक्रिया अघि बढाउन ग्लोबल आइएमई क्यापिटललाई पत्र काटेको छ । बक्यौता विवाद समाधान भइसकेको हुँदा कम्पनीको आईपीओ अघि बढाउने बाटो खुला भइसकेको भन्दै बोर्डले क्यापिटललाई पत्र काट्दै प्रक्रिया अघि बढाउन भनेको हो । कागजमा सबैकुरा मिलाउँदै कम्पनी आईपीओ निकाल्ने तयारीमा देखिए पनि उद्योगको वास्तविक प्रभाव भोगिरहेका स्थानीय नागरिक भने आजसम्म अन्धकारमै परेका छन् ।

सुनसरीको इटहरी–१२, खनारस्थित मिल्सले आफ्नो उत्पादन प्रक्रियाबाट निस्कने अत्यधिक प्रदूषणयुक्त फोहर पानी स्थानीय खोलामा मिसाउँदै आएको वर्षौंदेखिको गुनासो छ । रसायनयुक्त पानीको कारण खेतीयोग्य जमिन बाँझो बन्दै गएको, पशु मरणदर बढेको, मानव स्वास्थ्यमा गम्भीर समस्या देखिने गरेको हो । उद्योगले उत्पादन गर्ने धागोमा प्रयोग गरिने विभिन्न केमिकल र रङका कारण निस्कने दुर्गन्धित पानी स्थानीय बस्तीको दैनिकी नै बिगार्ने समस्यामा परिणत भएको छ ।
खनार क्षेत्रमा वसन्तदेखि हिउँदसम्मको मौसमका आधारमा समस्याको प्रकृति फरक–फरक देखिन्छ । वर्षात्मा पानीको सतह बढ्ने भएकाले फोहोर पानी केही हदसम्म बगेर जान्छ । तर हिउँद लागेपछि खोलाको सतह निकै तल झर्दा कम्पनीबाट आउने फोहोर पानी त्यहीँ जमेर बस्छ । यही कारण जाडो महिनामा स्थानीय बस्ती वरपर बस्नै नसक्ने अवस्था देखिन्छ । दुर्गन्ध, किरा–कीटक, रसायनजन्य गन्ध र स्वास्थ्यमा पर्ने प्रत्यक्ष असरका कारण स्थानीयहरू हैरानीमा परेका हुन् ।
धान, मकै, तरकारी र अन्य खाद्यबाली लगाइने थुप्रै विगाहा जमिन आज बाँझिएको स्थानीयवासी बताउँछन् । रसायनजन्य पानीले माटोको उर्वराशक्ति हराउँदै गएको उनीहरूको अनुभव छ । गाई–वस्तु पानी पिएर बिरामी पर्ने तथा कहिलेकाहीँ मर्ने घटना पनि दोहोरिँदै गएको छ । कृषिमा आश्रित किसान यतिबेला खेतीयोग्य जमिन गुमाउने डरले त्रसित छन् । उनीहरूका अनुसार प्रदूषित पानीले खोलादेखि खेत, बस्ती र दैनिक जीवनसम्म असर पु¥याएको छ । तर, जनताको सास्तीमा भने स्थानीय सरकार, प्रदेश सरकारदेखि संघ सरकार आनाकानी गर्दै आइरहेको हो ।
बुढी खोलासँग मिसिनुअघि खोलामा बग्ने पानी १०० प्रतिशत उद्योगकै फोहोर भएको स्थानीयद्वारा बताइन्छ । बिहान–साँझ हावासँगै दुर्गन्ध बस्तीभर फैलिन्छ, जसले गर्दा साना बालबालिकादेखि बृद्धबृद्धा सबैको स्वास्थ्यमा समस्या देखिने गरेको छ । कतिपयले छाला सम्बन्धी समस्या, आँखासम्बन्धी समस्या र दैनिक टाउको दुखाइजस्ता असरहरू महसुस गरेका छन् । स्वास्थ्य चौकीमा जाने बिरामीमध्ये पनि यिनै कारणले समस्या उत्पन्न भएको उल्लेख गर्नेहरूको संख्या बढ्दो रहेको जानकारी स्थानियले दिएका छन् ।
उद्योगले वर्षौंदेखि स्थानीयवासीबिरुद्ध दबाब, धाकधम्की र पैसा प्रयोग गरेर आवाज दबाउने गरेको आरोप पनि छ । प्रदूषणपीडित स्थानीयहरूले समय–समयमा आन्दोलन गरेका छन् । प्रर्दशन, गुनासो पत्र र विभिन्न सरकारी निकायमा निवेदन दिए पनि अहिलेसम्म कुनै पनि कदम सरकारी स्तरबाट नचालिएको उनीहरूको भनाइ छ । उल्टै, उद्योगले केही निश्चित व्यक्तिलाई परिचालन गर्दै गुनासो उठाउनेहरूलाई दबाबमा राख्ने, आन्दोलन कमजोर पार्ने र समस्या सतही रुपमा मात्र मिलाएको देखाउने काम गर्दै आएको आरोप स्थानीयहरूले लगाएका छन् ।
मिल्सको व्यवहारले उद्योगको सामाजिक उत्तरदायित्वबारे नै शंका उत्पन्न गरेको छ। औद्योगिक विकासले स्थानीय क्षेत्रलाई समृद्ध बनाउनु पर्ने हो तर यहाँ उल्टै त्यो उद्योगको अस्तित्वकै कारण बस्ती दिनप्रतिदिन उजाड बन्दै गएको छ।
७५ करोड वक्यौता नतिरेको रिलायन्स स्पिनिङ मिल्सको वर्षदिनको व्यापार १० अर्ब २३ करोड













