सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले मंसिर ७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ करोड कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट कात्तिक २४ गते अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा आयोजना प्रभावितलाई १ करोड कित्ता र वैदेशिक रोजगारीमा गएका नेपालीलाई १० लाख कित्ता आईपीओ निष्कासन गरेको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि मंसिर १० गतेसम्म मात्रै बिक्री खुला गरिएको थियो भने आयोजना प्रभावितहरूका लागि आजसम्म बिक्री खुला गरिएको छ।
आयोजना प्रभावितलाई छुट्याइएको १ करोड कित्तामध्ये आयोजना अति प्रभावित क्षेत्र (सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ७ र ११ र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १) का बासिन्दालाई ४० लाख कित्ता र प्रभावित क्षेत्र (अति प्रभावित बाहेक सालु दुधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकाको अन्य वडाहरू) का बासिन्दालाई ६० लाख कित्ता छुट्याइएको छ। यसमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन लिने काम आज बैंकिङ्ग समयपछि बन्द गरिने कम्पनीले जानकारी दिएको छ।
स्थानिय बासिन्दाले ग्लोबल आइएमई बैंकको सल्लेरी, सोलुखुम्बु शाखा, लक्ष्मी सनराइज बैंकको नेले, सोलुखुम्बु शाखा र आयोजनास्थल तिङ्गलाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई ‘आइआरएन डबल बी इस्यूअर रेटिङ्ग’ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड रहेका छन्।













