नेशनल लाइफद्वारा लुम्बिनी प्रदेशको सीईओ क्लबमा पर्न सफल सैयौं अभिकर्तालाई सम्मान

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनीस्थित होटल लुम्बिनी हेरिटेजमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश प्रसाद खत्रीको सभापतित्वमा सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी लुम्बिनी प्रदेशबाट योग्य भएका ३४० जना अभिकर्ताहरू र विभागीय प्रमुखहरू, प्रदेश प्रमुख एवं लुम्बिनी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान गरेको हो।
सीईओ खत्रीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए। सम्मान कार्यक्रममा लुम्बिनी प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूलाई सीईओे क्बलको सदस्यता वितरण तथा सम्मान गरिनुका साथै सो प्रदेशबाट आफ्नो कोडमा र संजालमा प्रथम, द्वीतीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। यसै गरी सो अवसरमा नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरूलाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरिएको थियो।

समारोहमा सीईओ खत्रीले सीईओ क्लब र नेशनल अवार्ड अन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेश स्तरीय रूपमा सम्मान कार्यक्रम गरिंदै आएको र हालसम्म गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका अभिकर्ताहरूको सम्मान कार्यक्रम सम्पन्न भइसकेको र सोही क्रममा लुम्बिनी प्रदेशबाट छनौट भएका अभिकर्ताहरूलाई सम्मान गरिएको बताए।
उनले बाँकी प्रदेशहरूमा पनि सीईओ क्लब सम्मान कार्यक्रमको तयारी भइसकेकाले सो प्रदेशहरूमा पनि अब छिट्टै नै कार्यक्रम सम्पन्न हुने बताए। साथै उनले कम्पनीले ल्याएको सीईओ क्लब कार्यक्रममा नेपालभरबाट १६०० जनाभन्दा बढी अभिकर्ताहरू छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको र यस्ता प्रकारका योजनाबाट अभिकर्तालाई व्यवसायिक बनाउन मद्धत पुग्ने धारणा व्यक्त गरे।
कार्यक्रममा सहभागि अभिकर्ताहरूलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले तालीम दिएका थिए। तालीमको क्रममा प्रशिक्षक झाले बीमा अभिकर्ता पेशा केबल व्यवसायसँग जोडिएको नभई सेवा भावसँग जोडिएको एक पवित्र पेशा भएको र यस पेशामा जोडिनु हरेक अभिकर्ताका लागि एक अवसर भएको हुँदा यस पेशामा लाग्ने व्यक्तिले सफलता हासिल गर्ने मुख्य आधार नै काम प्रतिको इमान्दारिता र निरन्तरता रहेको बताए।
समारोहमा सहभागि अभिकर्ताहरूले चर्चित अन्तर्राष्ट्रिय तालिम प्रशिक्षकबाट तालीम प्राप्त गर्दा यस पेशामा थप ऊर्जा मिलेको र आफ्नो मेहनतको कदर गर्दै सीईओबाट सम्मान ग्रहण गर्न पाउँदा अत्यन्तै गर्व महसूस भएको बताएका थिए।













