सागर डिष्टिलरीको आईपीओमा वित्तीय चलखेल, शेयर बजारमा माफियाहरुको रजगज!

काठमाडौँ । सागर डिष्टिलरी लिमिटेडले आम सर्वसाधारणलाई ठग्ने गम्भीर वित्तीय चलखेल गरेको पाइएको छ । कम्पनीले आईपीओ अघि पेश गरेको वित्तीय विवरणमा नाफा देखाएर स्वीकृति प्राप्त गरेको भएपछि नेप्सेमा सूचीकृत भएको तीन महिनाभित्रै सार्वजनिक भएको त्रैमासिक वित्तीय विवरणले कम्पनीको अवस्था पूर्णतः विपरीत देखाएको हो ।
कम्पनीले २०८२ साउन १२ गते आईपीओ स्वीकृति पाउँदा पेश गरेको विवरणपत्र अनुसार आर्थिक वर्षको नाफा ४० लाख रुपैयाँ रहेको देखाइएको थियो । तर, आईपीओ पश्चात सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनी १ करोड ५३ लाख रुपैयाँ खुद ऋणात्मक रहेको छ । उत्पादनमूलक कम्पनीहरूको व्यापार दसैं–तिहारको सिजनमा उच्च हुने सामान्य परम्परा भए पनि सागर डिष्टिलरीले ठीक यही समयमा भारी घाटा देखाएको छ । यसले आईपीओ निष्कासन अघि पेश गरिएको वित्तीय विवरणमा त्रुटि वा जानाजानी चलखेल भएको आशंका बढाएको छ ।
कम्पनीले आईपीओ मार्फत सर्वसाधारणबाट उठाएको रकमलाई प्राप्त गरेपछि मात्र घाटा देखाउनु वित्तीय नियमको उल्लंघनको संकेत हो । असोज मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४४ पैसा ऋणात्मक देखिएको छ भने प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ४७ पैसा रहेको छ ।
सागर डिष्टिलरी २०१४ मा स्थापना भएको र २०२३ मे २१ मा सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको एक आधुनिक मदिरा मिश्रण तथा बोटलिङ्ग इकाइ हो । कम्पनी भोड्का, ह्विस्की, जिन लगायत उच्च गुणस्तरका मदिराजन्य पदार्थ उत्पादन गर्छ र यसको वार्षिक उत्पादन क्षमता ५० लाख लिटर छ । प्रमुख उत्पादनहरूमा ललिपप गोल्ड/स्याउ/कागती/सुन्तला (७० यूपी), रोयल ब्लु (४० यूपी), ग्रे वुल्फ (४० यूपी), बेरिज एण्ड ब्लुज (४० यूपी), नेप्से बुल्स (३० यूपी) र द गर्भनर (२५ यूपी) रहेका छन् ।
कम्पनीका प्रमुख शेयरधनीहरूमा अशुतोष खेतान (१४.५२%), अल्का गोयल (१०.६३%) र सन्दीप जलान (९.१४%) रहेका छन् । हाल कम्पनीको नेटवर्थमा तीव्र गिरावट आएको छ । बैंक ऋणको ब्याजदर र दायित्व बढ्दै गएको अवस्थामा कम्पनीले नाफा कमाउनुको सट्टा सञ्चित नोक्सानी बढाउँदै गएको छ ।
वित्तीय विवरणमा त्रुटि गरेर आईपीओ स्वीकृति पाएको सागर डिष्टिलरीको शेयरमा अहिले शेयर बजारमा माफियाहरुले सक्रियता देखाएका छन् । सर्वसाधारणलाई आईपीओ मार्फत ठगिसकेपछि शेयर बजारमा केही सीमित समूहका व्यक्तिहरूले चलखेल गर्दै कम्पनीको शेयर मूल्य कृत्रिम रूपमा बढाउने काम गरिरहेका छन् ।
कम्पनीको वास्तविक आर्थिक अवस्था कमजोर छ र घाटा बढ्दै गएको छ । तर, बजारमा हुने चलखेलका कारण शेयर मूल्य अझै उच्च देखिन्छ । यसले सर्वसाधारण लगानीकर्तालाई भ्रममा पार्दै थप जोखिममा पुर्याइरहेको छ । कम्पनीको बजार मूल्य वास्तविक मूल्यभन्दा बढी देखाउन माफियाहरू सक्रिय भएका छन् ।
नेप्सेमा सूचीकृत भएपछि कम्पनीले शेयर मूल्यलाई कृत्रिम रूपमा उच्च बनाउने काम सुरु गरेको पाइएको छ । यस प्रक्रियामा शेयर बजारको सामान्य नियमन प्रणाली कमजोर रहँदा सीमित व्यक्तिहरू र माफियाहरूले कम्पनीको शेयरमा हात हालेर मूल्य बढाउने रणनीति अपनाएका छन् ।













