शेयर बजारमा फस्दै लगानीकर्ताः लगानी बालुवामा पानी, नीति सुधार हुँदा समेत किन खुम्चिदै मार्केट?

काठमाडौँ । शेयर बजार अहिले गम्भीर संकटमा फसेको छ । पछिल्ला केही दिनयता पुँजी बजार लगातार खुम्चिँदै गएको छ । नेप्से सूचकांक ओरालो लाग्दा लगानीकर्ताले गरेको लगानी बालुवामा पानी झैँ जस्तै भएको छ । हाल बजार अझै अनिश्चित बाटोमा अघि बढिरहेको छ । केही कम्पनीले भर्खरै आईपीओ निष्कासन गरी नेप्सेमा सूचीकृत भएका शेयर मात्रै सर्किट लागेका छन् भने अन्य कम्पनीका शेयर मूल्य स्थिर अवस्थामा रहेका छन् । लामो समयदेखि एकै मूल्यको आसपास मात्रै घुम्दा लगानीकर्ताको मनोबल कमजोर भएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको भए पनि बजारमा उल्लेख्य सुधार आएको छैन । जेनजी आन्दोलनपछि गठन भएको सरकारले पुँजी बजार सुधारका लागि समिति गठन गरेको थियो । समितिले दिएको सुझाव अनुसार राष्ट्र बैंकले केही नीतिगत निर्णय ल्याएको भए पनि समिक्षामा ठूला परिवर्तन देखिएका छैनन् । लगानीकर्ताले बैंकमार्फत शेयर खरिद गर्दा लाग्ने कर्जामा कडाइ हटाउनुपर्ने, र कोर क्यापिटलको ४० प्रतिशतसम्म मात्र मार्जिन कर्जा दिने व्यवस्था खारेज गर्नुपर्ने माग राखेका थिए । यी माग पूरा नभएकाले बजार केही सुस्त रहेको विश्लेषकहरूले बताएका छन् ।
बजारमा अस्थिरता अझै कायम छ । राजनीतिक अस्थिरता, आगामी आन्दोलनका खबर, र बैंक तथा वित्तीय संस्थाको प्रथम त्रैमासिक विवरणले लगानीकर्तामा जोखिमको भावना बढाएको छ । धेरै बैंकको नाफा घटेको र खराब कर्जा बढेको तथ्यले दीर्घकालीन लगानीकर्तालाई सतर्क बनाएको छ । विश्लेषकहरूले बजार अस्थिरतालाई ठूला लगानीकर्ता र माफिया समूहसँग जोडेर व्याख्या गर्न थालेका छन् । पछिल्ला दिनका गतिविधिले देखाएको छ कि बजार अस्थिर बाटोमा अघि बढिरहेको छ र लगानीकर्ता शेयर बजारबाट बाहिरिन खोजिरहेका छन् ।
बजार लामो समय सुस्त रहँदा यसले नकारात्मक प्रभाव पारेको छ । हाल नीति र नियामक निकायहरू सकारात्मक देखिए पनि बजारमा सुधार आउन सकेको छैन । नेपाल राष्ट्र बैंकले कसेर राखेका धेरै नीतिमा सुधार ल्याइ सकेको छ । धितोपत्र बोर्ड समेत लगानीमैत्री हुँदै अघि बढिरहेको छ । सरकार र सम्बन्धित निकायहरू सकारात्मक रहे पनि बजार निरन्तर खुम्चिँदै गएको छ ।
लगानीकर्ताको मनोबल कमजोर हुनु बजार खुम्चिने मुख्य कारण बनेको छ । बैंकको ब्याजदर भने शेयर बजारको प्रतिकूल पक्ष बनेको छ । पछिल्ला केही वर्ष बैंकको ब्याजदर निरन्तर घट्दै गएको छ । तथापि, यसले लगानीकर्तामा उत्साह सिर्जना गर्न सकेको छैन । सामान्यतया लाभांश सिजनमा शेयर बजारले उचाई कायम गर्छ । तर, यस वर्ष भने लाभांश सिजनमा नै भारी गिरावट देखिएको छ ।
नीति र नियामक निकायहरू सकारात्मक रहे पनि शेयर बजारले सही लय लिन सकेको छैन । लगानीकर्तामा असन्तुष्टि बढिरहेको छ र बजार अस्थिरताले अझै निरन्तर असर पार्ने अवस्था देखिएको छ । अहिले शेयर बजारमा लगानी गर्नेहरू तनावमा रहेका छन्, र बजारको दीर्घकालीन सुधार अझै अनिश्चित रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.४८ अकंले घटेर २६०९.६९ बिन्दुमा कायम भएको छ । आज ३२५ कम्पनीको १ करोड ७ लाख १८ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।
आइतबार १३ वटै उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.६० प्रतिशत, विकास बैंक समूहको ०.९३ प्रतिशत, फाइनान्स समूहको १ प्रतिशत, होटल तथा पर्यटन समूहको १.२० प्रतिशतले शेयर मूल्य घटेको छ ।
यसदिन ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको घटेको छ । ८ कम्पनीको शेयर मूल्य आज स्थिर रहेको हो ।














