पोखरा विमानस्थलमा ८ अर्ब भ्रष्टाचार: ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, के छ प्रतिवेदनमा ?

काठमाडौँ । चिनियाँ ऋण सहयोगमा निर्माण भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ८ अर्ब ३६ करोड रुपैयाँ बराबर भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गर्ने निर्णय गरेको छ।
अख्तियारको निर्णय अनुसार चार जना पूर्व पर्यटनमन्त्री, १० जना पूर्वसचिवसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च पदस्थ कर्मचारी र पूर्वमहानिर्देशकसमेत यस मुद्दामा समावेश छन्।
सरकारले चीनबाट करिब २२ अर्ब रुपैयाँ ऋण सहयोग लिई निर्माण गरिएको यो विमानस्थल चिनियाँ कम्पनी सीएएमसीले बनाएको हो। प्रतिवेदनअनुसार २२ अर्ब रुपैयाँमा बनाइएको विमानस्थलमा ८ अर्ब रुपैयाँ बराबर भ्रष्टाचार भएकोले निर्माणको गुणस्तरमा समेत प्रश्न उठेको छ।
सार्वजनिक लेखा उपसमितिले पनि विमानस्थलमा १० अर्ब रुपैयाँ बराबर अनियमितता र आर्थिक दुरुपयोग भएको ठहर गरेको छ। प्रारम्भमा विमानस्थल निर्माणका लागि करिब १४ अर्ब (१४५ मिलियन अमेरिकी डलर) बजेट अनुमान गरिएको थियो। तर निर्माण अवधिमा विभिन्न कारण देखाउँदै लागत २४ अर्ब (२१५ मिलियन अमेरिकी डलर) पुगेको प्रतिवेदनले जनाएको छ।
प्रतिवेदनमा भनिएको छ, ‘पाँच वर्षे निर्माण अवधिमा आयोजनाको लागत अनुमानभन्दा १० अर्ब रुपैयाँले बढाउनु कुनै तार्किक र आवश्यक कारणविना गरिएको देखिन्छ।’
उपसमितिले निर्माण प्रक्रियामा देखिएको अनियमितता र लापरवाहीले १० अर्ब रुपैयाँ बराबरको भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ।













