हजार वर्ष पुरानो रिपुम गुम्बामा भीषण आगलागी, ५० कोठा भएको आवास भवन पूर्णरूपमा नष्ट

२१ मंसिर २०८२, आईतवार १८:३२

काठमाडौँ । उत्तरी गोरखास्थित प्राचीन रिपुम गुम्बामा आइतबार दिउँसो भीषण आगलागी भएको छ। दिउँसो करिब १ बजेतिर सुरु भएको आगलागीले गुम्बाभित्र लामा बस्ने तीन तले आवासीय भवन पूर्ण रूपमा नष्ट भएको स्थानीयले जनाएका छन्।

आगलागीबाट करिब ५० वटा कोठा जलेका छन्। कोठामध्ये रहेका लत्ताकपडा, भाँडाकुँडा, फर्निचरलगायतका सामग्री समेत सबै जलेर नष्ट भएका छन्। आवास भवनमा लामासहित करिब ६० जना भिक्षु बस्दै आएका थिए।

आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनास्थलमा प्रहरी चौकी सामागाउँ र लार्के प्रहरी चौकी नाम्रुङबाट प्रहरी टोली पुगेको छ। आगलागी नियन्त्रणका प्रयास भइरहेको भए पनि क्षतिको पूर्ण विवरण जुटाउन समय लाग्ने प्रहरीले जनाएको छ।

हजार वर्षभन्दा पुरानो मानिने रिपुम गुम्बा स्थानीय तथा धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ। आगलागीले जलेको आवास भवन भने करिब ४० वर्षअघि निर्माण गरिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*