जीवन बीमा दीर्घकालीन र निर्जीवन बीमा कम्पनी अल्पकालिन लगानीमा केन्द्रित

२१ मंसिर २०८२, आईतवार १८:५६

काठमाडौं । हाल नेपालमा सञ्चालनमा रहेका बीमा कम्पनीहरुले नेपाल बीमा प्राधिकरणको लगानी निर्देशिका बमोजिम लगानी गर्दै आइरहेका छन् ।

जीवन र निर्जीवन बीमा कम्पनीहरुमा लगानीको अवस्था भिन्न रहेको पाइएको छ । जीवन बीमा कम्पनीहरुको लगानी दिर्घकालिनमा बढी देखिएको छ भने निर्जीवन बीमा कम्पनीहरुको लगानी छोटो अवधिमा बढी केन्द्रित रहेको देखिएको छ ।

यसको कारण जीवन बीमा कम्पनीहरुको हकमा बीमा पोलिसीहरु लामो समयसम्म रहने अर्थात परिपक्क अवधि कम्तिमा १० देखि १५ वर्षससम्म रहने र दावी भुक्तानीमा तत्कालै भुक्तानी पर्ने अवस्था कम हुने भएका कारण कम्पनीहरु दिर्घकालिन लगानीमा बढी केन्द्रित रहेको बीमा अधिकारीहरु बताउँछन् ।

निर्जीवन बीमा कम्पनीहरुको हकमा पनि छोटो अवधिमा बीमा पोलिसी नविकरण हुने भएका कारण लामो समयको लगानी गर्न उचित नहुने नेपाल बीमक संघका अध्यक्ष विरेन्द्र वैदवार क्षेत्री बताउँछन् । उनी भन्छन्, ‘निर्जीवन बीमा कम्पनीहरुमा एकदेखि डेढ वर्षमा बीमा पोलिसी नविकरण हुने भएको कारण छोटो अवधिको लगानीमा बीमा कम्पनीहरु बढी केन्द्रित भएका हुन् ।’

चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरणका आधारमा जीवन बीमा कम्पनीहरुले करिव ६ खर्ब रुपैयाँ दिर्घकालिन लगानी गरेका छन् । सोही कम्पनीहरुको छोटो अवधिको लगानी चाँही डेढ खर्ब रुपैयाँमा सीमित बनेको छ ।

निर्जीवन बीमा कम्पनीहरुले छोटो अवधिको लगानीलाई बढी प्राथमिकता दिदै करिव ५० अर्ब लगानी गरेका छन् । कम्पनीहरुले दिर्घकालिन लगानीलाई १७ अर्ब रुपैयाँमा सीमित बनाएका छन् ।

बीमा कम्पनीहरुले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ बर्गका बैंक तथा वित्तीय संस्थाको बैंक मौज्दात, सूचीकृत कम्पनीहरुको शेयर, हाइड्रोपावर, नागरिक लगानी कोष, विभिन्न कम्पनीका डिभेञ्चर लगायतका विभिन्न क्षेत्रहरुमा लगानी गर्ने गरेका छन् ।

जीवन बीमा

जीवन बीमा कम्पनीहरु विभिन्न क्षेत्रहरुमा पाँच खर्ब ८९ अर्ब ९३ करोड ३३ लाख रुपैयाँ दिर्घकालिन लगानी गरेका छन् । चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको अवधिमा कम्पनीहरुले उक्त लगानी गरेका हुन् । साथै, सोही कम्पनीहरुले एक खर्ब ५४ अर्ब ४३ करोड ७१ लाख रुपैयाँ छोटो अवधिको लगानी गरेका छन् ।

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दाबढी दिर्घ कालिन लगानी रहेको छ । कम्पनीले यस अवधिसम्ममा एक अर्ब ७१ अर्ब ५४ करोड रुपैयाँ दिर्घकालिन लगानी गरेका छन् । सोही कम्पनीले ४७ अर्ब ९४ करोड रुपैयाँ छोटो अवधिको लगानी गरेको छ ।

त्यस्तै, एलआइसी नेपाल दिर्घकालिन लगानीको तुलनामा दोस्रो स्थानमा रहेको छ । कम्पनीले समीक्षा अवधिमा ९१ अर्ब ३१ करोड रुपैयाँ दिर्घकालिन र २८ अर्ब २० करोड रुपैयाँ छोटो अवधिको लागि लगानी गरेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा नेशनल लाइफ इन्स्योरेन्सको दिर्घकालिन लगानी ७१ अर्ब ९७ करोड रुपैयाँ र छोटो अवधिको लागि सात अर्ब २४ करोड रुपैयाँ लगानी गरेका छन् । हिमालयन लाइफ इन्स्योरेन्सको दिर्घकालीन लगानी ६१ अर्ब २९ करोड रुपैयाँ, छोटो अवधिको १७ अर्ब ७२ करोड रुपैयाँ लगानी रहेको छ ।

एशियन लाइफ इन्स्योरेन्सको दिर्घकालीन लगानी ४३ अर्ब ९३ करोड रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३६ अर्ब ११ करोड रुपैयाँ, मेट नेपाल लाइफको २५ अर्ब ३४ करोड रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको १८ अर्ब ७१ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १८ अर्ब एक करोड रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १८ अर्ब रुपैयाँ लगानी रहेको छ ।

साथै, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १३ अर्ब ६६ करोड रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सको आठ अर्ब ९७ करोड रुपैयाँ दिर्घकालिन लगानी रहेको छ । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले वित्तीय विवरणमा आफ्नो दिर्घकालिन र छोटो अवधिको लगानी उल्लेख गरेको छैन् ।

निर्जीवन बीमा कम्पनीः

निर्जीवन बीमा कम्पनीहरुको छोटो अवधिको लगानी दिर्घकालिन लगानीको तुलनामा तीन गुणाले बढी रहेको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको छोटो अवधिको लगानी ४९ अर्ब ५० करोड रुपैयाँ रहेको छ । सोही कम्पनीहरुको दिर्घकालिन लगानी १७ अर्ब ४३ करोड रुपैयाँमा सीमित बनेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको छोटो अवधिको लगानी सबैभन्दा बढी रहेको छ । कम्पनीको छोटो अवधिको लगानी पाँच अर्ब ८७ करोड रुपैयाँ रहेको छ । सोही कम्पनीको दिर्घकालिन लगानी दुई अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।

नेको इन्स्योरेन्सको पाँच अर्ब ७७ करोड रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको चार अर्ब ५९ करोड रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको छोटो अवधिको लगानी चार अर्ब ५६ करोड रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको चार अर्ब ५० करोड रुपैयाँ छोटो अवधिको लगानी रहेको छ ।

साथै, नेपाल इन्स्योरेन्सको चार अर्ब ६ करोड रुपैयाँ, शिखर इन्स्योरेन्सको तीन अर्ब ४१ करोड रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको तीन अर्ब ३७ करोड रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सको तीन अर्ब २४ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सको तीन अर्ब २१ करोड रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको तीन अर्ब १५ करोड रुपैयाँ, द ओरियण्टल इन्स्योरेन्सको एक अर्ब ८९ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सको तीन अर्ब १५ करोड रुपैयाँ र प्रभु इन्स्योरेन्सको ८२ करोड रुपैयाँ लगानी रहेको छ ।

(माथि उल्लेखित विवरण सम्बन्धित बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासिकको तथ्यांकबाट समावेश गरिएको हो ।)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*