कुमारी बैंक र मेरो माइक्रोफाइनान्सको शेयर बेच्दै एनआरएन इन्फ्रास्ट्रक्चर

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो स्वामित्वमा रहेको कुमारी बैंक लिमिटेडको ५ लाख ३० हजार कित्ता र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ७८ हजार २०९ कित्ता शेयर बिक्रीमा राखेको छ।
संस्थापक शेयर बिक्री गर्दा शुरूमा सम्बन्धित कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिनु पर्ने व्यवस्था भएकाले हाल सम्बन्धित कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै यी शेयर खरीद गर्न सक्नेछन्।
शेयर खरीद गर्न इच्छुक कुमारी बैंकका संस्थापक शेयरधनीले काठमाडौंको टंगालस्थित बैंकको प्रधान कार्यालयमा र मेरो माइक्रोफाइनान्सका शेयरधनीले काठमाडौंको सितापाइलास्थित कम्पनीको सम्पर्क कार्यालयमा आवश्यक कागजात सहित आगामी ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर र मूल्य समेत खुलाई निवेदन दिनु पर्नेछ।
तोकिएको समयावधिभित्र सम्बन्धित कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।
एनआरएन इन्फ्रास्ट्रक्चरले विभिन्न ९ वटा कम्पनीहरूमा रहेको आफ्नो १६ लाख ७७ हजार कित्ता शेयर बिक्री गर्ने निर्णय गरेको थियो भने यो निर्णयलाई नेपाल धितोपत्र बोर्डले पनि स्वीकृत दिइसकेको छ। कम्पनीले अब सोही बमोजिम शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाउन थालेको हो।













