नेपाल बीमा प्राधिकरणका कर्मचारीद्वारा ७ दिने अल्टिमेटम, माग पूरा नभए चरणबद्ध हड्ताल गर्ने

२२ मंसिर २०८२, सोमबार १०:१०

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा बढ्दो कार्य–दबाब, प्राविधिक जटिलता र कर्मचारी व्यवस्थापनसम्बन्धी समस्या देखाउँदै कर्मचारी यूनियनहरूले प्राधिकरणका अध्यक्ष जनकराज शर्मालाई आफ्ना माग पूरा गर्न सात दिनको अल्टिमेटम दिएका छन्।

बीमा क्षेत्र द्रुतगतिमा विस्तार भइरहेका बेला नियमन, निरीक्षण र सुपरीवेक्षण झनै जटिल बन्दै गइरहेको भन्दै पर्याप्त जनशक्ति, आकर्षक सुविधा नहुँदा सेवा प्रवाहमा दीर्घकालीन चुनौती पैदा भएको भन्दै विभिन्न माग अघि सारेका हुन्।

अन्य नियामक निकायसँग प्रतिस्पर्धा गर्न सकिने खालका सेवा सुविधा तथा संगठन संरचना अभावले दक्ष जनशक्ति आकर्षित गर्न र टिकाउनै कठिन भएको र यसले बीमा बजारको पारदर्शिता, बीमित हित र समग्र क्षेत्रको दिगोपनामा नकारात्मक असर परेको बताएका छन्।

दुई ट्रेड यूनियनहरू नेपाल बीमा प्राधिकरण कर्मचारी युनियन र नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनले श्रम ऐनअनुसार २१ दिनभित्र वार्ताको पहल नआएको भन्दै अब ७ दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम दिएका छन्। यो अवधिभित्र पनि माग सम्बोधन नभए २८ गतेदेखि क्रमबद्ध हड्तालमा जाने चेतावनी दिएका छन्।

यूनियनका तर्फबाट बीमा प्राधिकरणको नेतृत्वसँग बार्ता गर्नका लागि प्रेम हरि पोखरेल, दिपक ज्ञवाली, अनुराग पाण्डे, सागर आचार्य र शिव प्रसाद खनाल वार्ता समिति सदस्यका रूपमा तोकिएका छन्।

यूनियनले नयाँ संगठन संरचना र सेवा सुविधा लागू गरी त्यसपछि मात्र पदपूर्ति अघि बढाउने, प्राविधिक आवश्यकताअनुसार उपनिर्देशक पद आन्तरिक प्रतिस्पर्धाबाट मात्र पूर्ति गर्ने, कर्मचारी विनियमावलीमा प्राविधिक–प्रशासन समूह तथा प्रदेश सरुवामा भौगोलिक व्यवस्था स्पष्ट पार्न माग गरेको छ।

त्यसैगरी तालिम, मनोनयन, सरुवा र गुनासो सम्बोधनमा कर्मचारी प्रतिनिधित्व सुनिश्चित गर्ने, निर्देशक पदमा अधिकतम सेवा अवधि तय गर्ने, प्राधिकरणको उत्तराधिकारी योजना तत्काल लागू गर्ने तथा प्राधिकरणलाई अन्तर्राष्ट्रिय स्तरको प्रयास मार्फत आधुनिक बनाउने जस्ता ७ बुँदे माग अघि सारेका छन्।

Ultimatum-NIA (1)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*