बाढीले ध्वस्त पारेको रसुवागढी जलविद्युत् पुनः चल्यो, छ महिनापछि ३७ मेगावाट उत्पादन सुरु

काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना आंशिक रूपमा सञ्चालनमा आएपछि छ महिनादेखि रोकिएको विद्युत् उत्पादन पुनः सुरु भएको छ। गत असार २४ मा चीनको तिब्बतबाट बग्ने ल्येन्दे खोलामा हिमताल फाटेर आएको भीषण बाढीले १११ मेगावाट क्षमताको आयोजनाको बाँधलगायत हेडवर्क्स क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। बाढीपछि रोकिएको आयोजनाको तीनवटा युनिटमध्ये ३७ मेगावाट क्षमताको एक युनिट शनिबारदेखि सञ्चालनमा आएकाे हो।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को नेतृत्वमा रसुवामा निर्माण भएको आयोजना पुस ०८१ मा मात्रै सञ्चालनमा आएको थियो। तर प्रक्षेपण भएको छ महिनामै बाढीले संरचना ध्वस्त बनाएको कारण परियोजना पूर्ण रूपमा ठप्प परेको थियो। आवश्यक मर्मत–सम्भार र पुनर्निर्माण कार्यपछि हेडवर्क्स क्षेत्रमा अस्थायी रूपमा नदीको बहाव डाइभर्सन गरेर विद्युत्गृहका तीनमध्ये एक युनिट चलाइएको प्राधिकरणले जनाएको छ।
बाँकी दुई युनिट पनि एक महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए। उनका अनुसार हेडवर्क्स क्षेत्रका बाँकी क्षतिग्रस्त संरचना आगामी वर्षायामअघि नै पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्यमा काम भइरहेको छ। विद्युत् उत्पादन सुरु भएपछि हिउँदयामको माग व्यवस्थापनमा केही सहजता आउने प्राधिकरणको आकलन छ।
असारमा आएको बाढीले हेडवर्क्स क्षेत्रमा पानीसँगै बगेर आउने काठ, झार, बोटबिरुवाजस्ता संरचना रोक्ने मेसिन, गेटलगायतका उपकरण पूर्ण रूपमा नष्ट भएका थिए। नियन्त्रण भवनमा दुई मिटरभन्दा बढी लेदो थुप्रिएको थियो भने ठूला ढुंगा मिसिएको बाढीले सुरुङमा पानी पठाउने संरचना भत्काएको थियो। टेलरेसमा पानी बस्दा टर्बाइन रहेको तल्लो तला पूरै डुबानमा परेको थियो।
बाढीको रात आयोजनामा रहेका २२ जना कर्मचारीलाई सेना–हेलिकोप्टरमार्फत हेडवर्क्स र आवास क्षेत्रबाट उद्धार गरिएको थियो। कर्मचारी आवास क्षेत्र पूर्ण रूपमा बगाएको थियो। स्याफ्रुबेँसी–आयोजनास्थल जोड्ने मुख्य सडक पनि विभिन्न स्थानमा पहिरोका कारण अवरुद्ध बनेको थियो।
आयोजनाबाट १६ पुस ०८१ देखि व्यावसायिक उत्पादन सुरु भएको थियो तर असारको बाढीपछि उत्पादन बन्द भएको थियो। आयोजना पुनः पूर्ण क्षमतामा सञ्चालनमा आएपछि वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन हुने अनुमान छ।













