रिलायन्स मिल्सको आईपीओमा आवेदन दिनेको ओइरो, ३० मिनेटमै ‘ओभर सब्सक्राइब’

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा आवेदन दिनेको ओइरो लागेको छ । कम्पनीको आईपीओ खुलेको ३० मिनेटमै ‘ओभर सब्सक्राइब’ भएको हो ।
वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि निष्कासन गरेको आईपीओमा ३० मिनेटमै मागभन्दा बढी आवेदन परेको हो । एक लाख १५ हजार ५९६ कित्ता आईपीओ निष्कासन गरेकोमा ३० मिनेटमै १ लाख १८ हजार ३४० कित्ता आवेदन परेको हो ।
विदेशमा रहेका नेपालीले न्यूनतम् ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उक्त परिमाणको साधारण शेयरमा आगामी पुस ७ गतेसम्म आवेदन दिन सक्ने छन् ।
लगानीकर्ताले यो आईपीओमा आवेदन दिंदा प्रतिकित्ता ८२०।८० रुपैयाँ लाग्नेछ र आवेदन दिंदा कम्तीमा ५० कित्ताका लागि र बढीमा २० हजार कित्तासम्म माग गर्न सकिनेछ। यसको मतलब यो आईपीओ भर्न कम्तीमा पनि ४१ हजार ४० रुपैयाँ लाग्नेछ।
साधारण शेयरमा लगानी गर्न चाहनेले धितोपत्र बोर्डमा दर्ता भएका सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय तथा मेरो शेयरको अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
सो कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।













