भक्तपुरमा हेलिपोर्ट बनाउँदा भ्रष्टाचार गरेको आरोपमा क्यान महानिर्देशक अधिकारी थुनामा

काठमाडौं । भक्तपुरको नलिञ्चोकमा हेलिपोर्ट बनाउँदा बद्नियतपूर्वक १३ करोड ५७ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी (हाल निलम्बित) थुनामा पुगेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई गत बुधबार पक्राउ गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। आइतबार सोही मुद्दामा विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
उक्त आदेश अनुसार उनलाई आइतबार देखिनै डिल्लीबजार कारागारमा थुनामा राखिएको हो। यता अख्तियारले हिजो मात्रै दर्ता गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार काण्डमा पनि संलग्न भएको आरोपमा पनि उनी विरुद्ध मुद्दा चलाइएको छ।













