स्थानीयले निभाएको डढेलोको नाममा समेत भ्रष्टाचार

काठमाडौं । जाजरकोटको शिवालय गाउँपालिका अन्तर्गत चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहको झण्डै १० लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा ४ जना विरुद्ध मुद्दा दर्ता भएको छ।
भ्रष्टाचारमा संलग्न भएको आरोपमा उपभोक्ता समूहका तत्कालीन अध्यक्ष अमृते दमाई, कोषध्यक्ष धनसरी राना, सचिव राम कुमारी राना र दर्तावाल लेखापरीक्षक भोजराज शर्मा पाण्डे विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको हो।
उनीहरूले लेखापरीक्षण खर्च, विविध खर्च जस्ता विभिन्न शीर्षकका लागि भन्दै उपभोक्ता समूहको खाताबाट पटक पटक रकम झिकेको देखिएको तर जुन शीर्षकका लागि झिकिएको हो त्यो काम नै नभएको र १० हजार रुपैयाँमै सम्पन्न भएको लेखापरीक्षणमा १ लाख ३० हजार खर्च भएको देखाएर रकम हिनामिना गरेको खुलेपछि अख्तियारले मुद्दा चलाएको हो।
कतिसम्म भने वन उपभोक्ता समूहको क्षेत्रभित्र डढेलो लाग्दा स्थानीयले निःशुल्क र स्वस्र्फुत रूपमा डढेले निभाएको कार्यमा समेत ९५ जना जनशक्ति परिचालन भएको भन्दै झुटा बिल बनाएर रकम निकालेर भ्रष्टाचार गरेको पाइएको छ।
यसरी विभिन्न शीर्षक देखाएर पटक पटक उपभोक्ता समूहको रकम निकालेर नगरेको कामलाई गरेको भन्दै झुटा बिल बनाएर ९ लाख ६५ हजार रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएपछि अख्तियारले आज सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।













