इन्धन गाडी विस्थापनसँगै सयौँ मेकानिक बेरोजगार, ईभी सीप तालिममा सरकार उदासीनः जिफन्ट अध्यक्ष श्रेष्ठ

२३ मंसिर २०८२, मंगलवार १२:४१

काठमाडौँ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले विद्युतीय सवारीसाधन (इभि) को तीव्र विस्तारले परम्परागत इन्धनयुक्त गाडीमा निर्भर मेकानिक र मजदुरहरूलाई ठूलो संख्यामा बेरोजगार बनाउँदै लगेको बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले आयोजना गरेको ‘नेपालमा जलवायु परिवर्तन, श्रम बजारमा प्रभाव र न्यायोचित रूपान्तरणका लागि सहकार्य’ विषयक गोष्ठीमा बोल्दै अध्यक्ष श्रेष्ठले इन्धनबाट चल्ने सवारी विस्थापित हुँदै जाँदा श्रमिकहरूको रोजगारी जोखिममा परेको बताए ।

उनका अनुसार इभि भित्रिएअघि पेट्रोलियम पदार्थमा चल्ने गाडीको मर्मत–सम्भार उद्योगमा सयौँ मेकानिक संलग्न थिए । यद्यपि, इभि सवारी बढेपछि ती मेकानिकहरू क्रमशः बेरोजगार हुँदै गएको भन्दै उनले राज्यले श्रमिकको भविष्य सुरक्षित गर्न अग्रसर हुनु आवश्यक भएको बताए ।

उन्होंने इभि सकारात्मक प्रविधि भए पनि त्यसले उत्पन्न गरेको श्रम चुनौतीको समाधान सरकारले सम्बोधन गर्न नसकेको टिप्पणी गर्दै बेरोजगार हुँदै गएका मेकानिकलाई इभि मर्मतसम्भारको सीप र दक्षता विकासका तालिम उपलब्ध गराउन आग्रह गरे ।

श्रेष्ठले जलवायु परिवर्तन र हरित ऊर्जा सम्बन्धी नीतिलाई श्रम–केन्द्रित बनाउनु आवश्यक छ भन्दै विद्यमान कानुनमा श्रमिकका मुद्दा समेटिन नसकेको पनि उल्लेख गरे । उनले पुराना कानुन संशोधन गरी श्रमिक संरक्षण, हरित रोजगारी र प्रभावित क्षेत्र पहिचानका आधारमा नीति, निर्देशिका तथा नियमावली बनाउन सरकारलाई आग्रह गरे ।

उनका अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई अनौपचारिक क्षेत्रसम्म प्रभावकारी रूपले लागू गर्नुपर्नेमा सरकारले ट्रेड युनियनसँग पर्याप्त समन्वय नगरेको आरोप लगाए । सामाजिक सुरक्षा कार्यक्रमलाई कार्यान्वयन गर्ने प्रक्रियामा श्रमिकसँग प्रत्यक्ष सम्वाद र सहकार्य अपरिहार्य रहेको उनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*