रुग्ण ठेक्काको दबाबमा विकास रोकियो, अब परिणाम नदिने ठेक्का तुरुन्तै तोडिन्छ: मन्त्री घिसिङ

२३ मंसिर २०८२, मंगलवार १४:१६

काठमाडौँ ।  भौतिक पूर्वाधार, शहरी विकास तथा उर्जामन्त्री कुलमान घिसिङले रुग्ण ठेक्का तोड्नुपर्ने परिस्थिति आफ्नो व्यक्तिगत इच्छा नभई बाध्यता भएको स्पष्ट गरेका छन्। मंगलवार पूर्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा मन्त्री घिसिङले सरकारले अब नबन्ने र परिणाम नदिने ठेक्का तोड्दै जानेबारे कडाइका साथ चेतावनी दिए।

मन्त्री घिसिङका अनुसार ठेक्का तोड्ने निर्णय ‘रिजल्ट बेस्ड’ प्रगति सुनिश्चित गर्ने आवश्यकताका कारण गरिएको हो। रुग्ण परियोजना, ढिलाइ, कमजोरी र अनावश्यक बहानाका कारण देशको विकास रोकिएका उदाहरण धेरै रहेको बताउँदै उनले अब परिणाम दिन नसक्ने प्रोजेक्ट म्यानेजरलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता दोहोर्‍याए।

उनले भने, ‘एउटा प्रोजेक्ट म्यानेजर आउँछ, निर्णय नै नगरी स्केप हुन्छ। अर्को आउँछ, उसले पनि निर्णय नगर्ने। यस्तो प्रवृत्ति रोक्न हामीले कडाइ गर्नैपर्छ। जसले काम गर्दैन, निर्णय लिँदैन, उसको पनि छानविन र कारबाही आवश्यक छ। नत्र प्रोजेक्ट कहिल्यै बन्दैन।’

घिसिङले निर्माण व्यवसायीका कारण मात्र परियोजना रुग्ण नभएको, सरोकारवाला निकाय, बजेट स्वीकृति प्रक्रिया र प्राविधिक नेतृत्वको कमजोरी पनि त्यतिकै कारण रहेको बताए। अर्थ मन्त्रालयदेखि विभागीय संरचनासम्म रहेका जटिल प्रक्रियाले बजेट खर्चमा नै बाधा पुग्ने गरेको बताए। रुग्ण परियोजनामा सरकार पक्षको क्षमता, ढिलाइ र लापरवाही पनि समग्र छानविनको दायरामा ल्याउनुपर्ने उनको अवधारणा छ।

विद्युत प्राधिकरणमा भएको घाटाको उदाहरण प्रस्तुत गर्दै उनले निर्णय नगर्ने प्रकोपबाट देशले ठूलो नोक्सानी व्यहोर्नुपरेको उल्लेख गरे। प्राधिकरणमा देखिएको ४३ करोड घाटा वास्तविक रूपमा करिब २१ करोड रहेको बताउँदै उनले भने, “समयमै निर्णय नगर्दा अर्को कोटेसन माग्नुपरेको र त्यसैबाट घाटा देखिएको हो। एक महिनाभित्र निर्णय हुनुपर्नेमा तत्कालीन कार्यकारी निर्देशकले ढिलाइ गरेपछि समस्या बढेको हो।”

निर्माण व्यवसायीको भूमिकाबारे पनि मन्त्री घिसिङ स्पष्ट रूपमा उत्रिए। धेरै ठेकदारहरूले संयुक्त उपक्रम मार्फत ठेक्का लिए पनि परिणाममुखी काम हुन नसकेको उनको भनाइ थियो। ठूला ठेकदारहरूले क्षमता नभएका साझेदारलाई काम जिम्मा लगाउने अभ्यासका कारण धेरै आयोजना अलपत्र परेको उनले बताए।

उनले भने, “ठेकदारले अब क्षमता बढाएर आउनुपर्छ। धेरै जनाको क्षमता नै अभाव छ। ठूलठूला कन्ट्याक्टरहरूले अरूलाई ल्याएर जिम्मा लगाउँछन्, काम हुँदैन। डुब्नै लागेपछि आफैंले उठेर पिकअप चलाएर काम गर्नु परेको अवस्था मैले देखेको छु।”

रुग्ण ठेक्का तोड्दा प्रतिशोध वा वैमनस्यताको कथा नबनाउन आग्रह गर्दै उनले परिणाममुखी प्रशासन, जिम्मेवार नेतृत्व र सक्षम निर्माण व्यवसायी बिना मूलभूत पूर्वाधार विकास असम्भव हुने चेतावनी दिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*