६ दिनको राताम्यमा ब्रेकः छैन लगानीकर्तामा उत्साह, सकारात्मक माहोलमा अनिश्चित मार्केट किन ?

काठमाडौँ । पछिल्ला केही दिन यता राताम्य भएको शेयर बजारमा आज झिनो सुधार देखिएको छ । ६ दिन ओरालो लागेको बजार आज भने सामान्य अकंले बढ्न पुगेको छ । बजार पछिल्लो समय सुस्त देखिदै आइरहेको छ । बजार अन्तिम एक मिनेटमा बढ्न पुगेको हो ।
नेप्से सूचकांक लगातार खुम्चिँदै गएपछि लगानीकर्तामा चिन्ता बढेको छ । बजार लामो समयदेखि २५ सयदेखि २७ सय परिसूचकको आसपास स्थिर रहेकाले धेरै लगानीकर्ताले गरेको लगानी ‘बालुवामा पानी’ जस्तो भएको महसुस गरिरहेका छन् ।
केही कम्पनीले भर्खरै आईपीओ निष्कासन गरी नेप्सेमा सूचीकृत भएका शेयरमा मात्र सर्किट लागेको छ भने अन्य कम्पनीका शेयर मूल्य स्थिर छन् । लामो समय एउटै मूल्यको आसपास घुम्दा लगानीकर्ताको मनोबल कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासिक मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको भए पनि बजारमा उल्लेख्य सुधार आएको छैन ।
बजारमा अस्थिरता राजनीतिक र आर्थिक कारणले अझै कायम छ । आगामी आन्दोलनका खबर, बैंक तथा वित्तीय संस्थाको त्रैमासिक विवरण, घट्दो नाफा र बढ्दो खराब कर्जा लगानीकर्तामा जोखिमको भावना बढाएको छ । विश्लेषकहरूले बजार अस्थिरतालाई ठूला लगानीकर्ता र माफिया समूहसँग जोडेर व्याख्या गर्न थालेका छन् ।
नीति र नियामक निकायहरू सकारात्मक भए पनि शेयर बजारले सुधारको गति लिन सकेको छैन । बैंकको ब्याजदरले समेत प्रतिकूल असर गरेको छ भने लाभांश सिजनमा समेत बजारले भारी गिरावट देखाएको छ । लगानीकर्ताको मनोबल कमजोर हुनु बजार खुम्चिने मुख्य कारण बनेको छ र दीर्घकालीन सुधार अझै अनिश्चित देखिन्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३९ अकंले बढेर २६१४.१४ बिन्दुमा कायम भएको छ । आज ३३१ कम्पनीको ८७ लाख ४२ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
यसदिन ८ उपसूचकमा हरियाली आएको छ । आज विकास बैंक समूहको ०.३१ प्रतिशत, फाइनान्स समूहको ०.४० प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८८ प्रतिशतले शेयर मूल्य बढेको छ ।
मंगलबार १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने १०१ कम्पनीको घटेको छ । ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।














