पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा निलम्बित महानिर्देशक अधिकारीसँग पाँच लाख धरौटी माग
२३ मंसिर २०८२, मंगलवार १८:४५

काठमाडौँ । ८ अर्ब ३ करोड रुपैयाँ बिगो रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धि भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग पाँच लाख रुपैयाँ धरौटी माग गरिएको छ। विशेष अदालतले मंगलबार भएको पेशीमा अधिकारीसँग पाँच लाख धरौटी तोकेको हो।
उक्त मुद्दामा प्राधिकरणका निर्देशक मुरारी भण्डारीसँग एक लाख रुपैयाँ धरौटी मागिएको छ। नलिञ्चोक हेलिपोर्ट निर्माणसम्बन्धि छुट्टै भ्रष्टाचार मुद्दामा उनीहरू गत बुधबार पक्राउ परेका थिए।
सो हेलिपोर्ट मुद्दामा अदालतले अधिकारीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएअनुसार उनी अहिले डिल्लीबजार कारागारमा रहेका छन्। भण्डारीसँग भने सोही मुद्दामा पाँच लाख रुपैयाँ धरौटी मागिएको थियो।
















