हेटौंडाको लक्ष्मी आधारभूत विद्यालयका छात्रालाई शिवम् सिमेन्टको सहयोग

काठमाडौं । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई मध्यनजर गर्दै हेटौंडामा रहेको शिवम् सिमेन्ट लिमिटेडले छात्रा लक्षित छात्रवृत्ति प्रदान गरेको छ । कम्पनीले हेटौंडा–१७, हटिया स्थित उद्योग प्रभावित क्षेत्रभित्र रहेको लक्ष्मी आधारभूत विद्यालयमा अध्ययनरत १०४ जना छात्रा विद्यार्थीहरूका लागि चालू शैक्षिक सत्रको लागि छात्रवृत्ति प्रदान गरेको हो ।
विद्यालय सञ्चालनका लागि विद्यार्थीबाट लिइँदै आएको आठ महिनाको शुल्कबापत हुन आउने रकम मंगलबार विद्यालय परिसरमा आयोजित औपचारिक कार्यक्रममा हस्तान्तरण गरिएको थियो । छात्रवृत्ति जन प्रतिनिधि, शिवम् सिमेन्टका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रध्यानाध्यापक लगाएतको उपस्थितिमा हस्तान्तरण गरिएको हो । कम्पनीले विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका छात्राहरूका लागि छात्रवृत्तिको व्यवस्था गरेको जनाएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यदुदेव उपाध्याय सिग्देलले छात्रा शिक्षामा सहयोग पुर्याएकोमा शिवम् सिमेन्ट लिमिटेडप्रति धन्यवाद व्यक्त गर्दै यस किसिमको सहकार्यले सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार गर्न मद्दत पुग्ने बताए । साथै उद्योग सन् २०६८ सालमा स्थापना भएदेखि विद्यालयसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै आगामी शैक्षिक सत्रदेखि पूर्ण छात्रवृत्तिको व्यवस्था गरिदिन आग्रह पनि गरे ।
यस अघि पनि शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा कम्पाउण्ड वाल निर्माण, स्कूल बसको व्यवस्था तथा कम्प्युटर–प्रिन्टर लगायतका शैक्षिक सामग्री सहयोग गर्दै आएको जनाएको छ ।













