नक्कली प्रमाणपत्रमा सरकारी जागिर खाएका सब–इन्जिनियरविरुद्ध अख्तियारको मुद्दा

२४ मंसिर २०८२, बुधबार १६:०८

काठमाडौँ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी लामो समयसम्म सरकारी सेवा उपभोग गरेको आरोपमा सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सब–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार मण्डलले भारतको बिहार विद्यालय परीक्षा समिति, पटनाबाट हाईस्कुल तह प्रथम श्रेणीमा उत्तीर्ण भएको दाबी गर्दै नक्कली लब्धांकपत्र पेश गरेका थिए। साथै मडैया बलुवा उच्च विद्यालयको नक्कली ‘स्कुल लिभिङ सर्टिफिकेट’ प्रयोग गरेको आयोगको अनुसन्धानले पुष्टि गरेको छ।

यिनै नक्कली प्रमाणपत्रका आधारमा मण्डलले २०५३ साउन १ गते जिल्ला विकास समिति कार्यालय, सुनसरीमा सहायक सब–ओभरसियर पदमा स्थायी नियुक्ति पाएका थिए। त्यही आधारमा २०६७ माघ ७ गते उनी सहायक इन्जिनियर पदमा समेत बढुवा भएका थिए। सरकारले प्रदान गर्ने तलब, भत्ता र अन्य सुविधा निरन्तर लिँदै आएको अवस्थामा उनको शैक्षिक कागजात नक्कली रहेको तथ्य सार्वजनिक भएपछि अख्तियारले कारबाही प्रक्रिया अघि बढाएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*