प्रभु बैंकका रेमिट प्रमुख सुजिन शाक्य पक्राउ

२४ मंसिर २०८२, बुधबार १७:५४

काठमाडौँ । प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख सुगेन (सुजिन) शाक्यलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ। बुधबार ललितपुर महानगरपालिका–११ इखाँछेबाट पक्राउ परेका शाक्यलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको हो ।

अनुसन्धानका क्रममा शाक्यले प्रभु बैंकलाई एक अर्ब रुपैयाँभन्दा बढी आर्थिक हानी पुर्‍याएको देखिएको सीआईबीको दाबी छ। बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतका थप मुद्दामा समेत उनीमाथि अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

सीआईबीका अनुसार शाक्यले नियमविपरीत प्रभु म्यानेजमेन्ट नामक संस्थालाई सुपर एजेन्ट बनाइ रेमिट्यान्स कारोबारका लागि अग्रिम रकम उपलब्ध गराएका थिए। सो संस्थासँगको कारोबार रोकिएको अवस्थामा समेत उनले नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत आफ्नो स्वार्थ समूहलाई लाभ हुने गरी लामो समयसम्म ती रकम प्रयोग गर्न दिएर प्रभु बैंकलाई झण्डै नौ करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको अनुसन्धानबाट खुलेको ब्युरोले बताएको छ।

सोही अपराधलाई लुकाउन छिपाउनको लागि कर्जा प्रवाह गरी गराई कर्जा दुरुपयोग गर्ने र गराउने कार्यमा संलग्न प्रतिवादी प्रभु बैंकका सीईओसमेतलाई अशोक शेरचन समेत उपर बैंकिङ कसूरमा अनुसन्धान भईरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*