१३ प्रतिशतले घट्यो वाणिज्य बैंकको नाफाः चार महिनामा कमाए साढे १९ अर्ब, कुनको कति ?

२५ मंसिर २०८२, बिहीबार ११:४४

काठमाडौँ । वाणिज्य बैंकहरुको नाफामा गिरावट देखिएको छ । जेन जी आन्दोलनपछि बनेको असहज परिस्थितिका कारण बैंकहरुको मुनाफा प्रभावित बन्न पुगेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को चार महिनासम्मको तथ्याङ्क अनुसार वाणिज्य बैंकको मुनाफा १९ अर्ब ३७ करोड ५४ लाख ९० हजार रुपैयाँमा सीमित भएको हो । बैंकहरुको मुनाफा गत आर्थिक वर्ष २०८१।०८२ को चार महिनाको तथ्याङ्क भन्दा १३.११ प्रतिशतले कम हो । सो आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकहरुले २२ अर्ब २९ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।

पछिल्लो समय बैंकको खराब कर्जाको ग्राफ बढ्दै गएको छ । देशमा चलि रहेको आन्दोलन र आर्थिक मन्दिका बीच बैैंकहरुको खराब कर्जा बढ्दा त्यसको प्रभाव बैंकहरुको नाफामा पर्ने गएको देखिन्छ । समिक्षा अवधिमा ५ बैंकको नाफा मात्रै बढेको छ भने १५ बैंकको नाफा घटेको छ ।

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको अवधिमा धेरै नाफा आर्जन गर्ने सूचीको पहिलो नम्बरमा ग्लोबल आईएमई बैंक रहेको छ । यसअवधिमा बैंकले २ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १८.९१ प्रतिशतले बढी हो ।

धेरै नाफा आर्जन गर्ने दोस्रो नम्बरमा रहेको नबिल बैंकको २ अर्ब ४६ करोड ६७ लाख रुपैयाँ रहेको छ । उक्त नाफा गत आर्थिक वर्षको समिक्षा अवधिको भन्दा ८.३२ प्रतिशतले कम हो ।

यता, प्राइम बैंकको नाफा २.४८ प्रतिशतले घटेर १ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ भने एभरेष्ट बैकको ०.२७ प्रतिशतले बढेर १ अर्ब ५१ करोड रुपैयाँमा आइपुगेको छ ।

चार महिनामा अवधिमा एनएमबि बैंकको नाफा १४ प्रतिशतले घटेर १ अर्ब १८ करोड र कुमारी बैंकको २५.७९ प्रतिशतले घटेर १ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।

यसअवधिमा भने राष्ट्रिय वाणिज्य बैंकको नाफामा उच्च अकंले वृद्धि भएको छ । कात्तिक मसान्तसम्मको अवधिमा बैंकको नाफा १०५ प्रतिशतले बढेर १ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा स्टान्र्डड चार्टड बैंकको १९.४७ प्रतिशतले घटेर ९१ करोड ५८ लाख, हिमालयन बैंकको १० प्रतिशतले घटेर ८२ करोड ३२ लाख, नेपाल बैंकको १३ प्रतिशतले घटेर ८० करोड ९८ लाख, सानिमा बैंकको १९ प्रतिशतले बढेर ७७ करोड ९२ लाख, प्रभु बैंकको ४० प्रतिशतले घटेर ७३ करोड ७७ लाख, नेपाल एसबिआई बैंकको ३३ प्रतिशतले घटेर ६७ करोड २० लाख, सिद्धार्त बैंकको १ प्रतिशतले घटेर ६६ करोड २७ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६५ प्रतिशतले घटेर ६३ करोड ९ लाख, लक्ष्मी सनराइज बैंकको ४१ प्रतिशतले घटेर ६२ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

यसअवधिमा माछापुच्छ्रे बैंकको नाफा ६० करोड ९९ लाख, एनआईसी एशियाको ३४ करोड ३४ लाख, कृषि विकास बैंकको ७ करोड ४९ लाख र सिटिजन्स बैंकको १ करोड ६४ लाख रुपैयाँमा सीमित रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*