डराउनुपर्ने कुनै कारण छैन, बैंकका लागि सबैभन्दा सुरक्षित लगानी शेयर बजार नै हो: डेपुटी गभर्नर मिश्र

२५ मंसिर २०८२, बिहीबार १२:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले बैंक तथा वित्तीय संस्थाका लागि सबैभन्दा सुरक्षित लगानी शेयर बजार नै भएको बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बैंकहरूले शेयर बजारमा लगानी गर्न डराउन नहुने बताएका हुन् ।

डेपुटी गभर्नर मिश्रले शेयर बजारको मूल्य निर्धारण, जोखिम व्यवस्थापन र बजारको पारदर्शिताको विषयमा उदाहरणसहित व्याख्या गर्दै बैंकहरूका लागि शेयरमा लगानी व्यावहारिक र सुरक्षित विकल्प बन्न सक्ने बताए। ‘राष्ट्र बैंकको मान्छे हुँ भन्न मिल्छ कि मिल्दैन, तपाईँहरूले कतिको मान्नुहुन्छ’ भन्दै उनले दैनिक मूल्य सार्वजनिक हुने शेयर बजारमा घटबढका आधारमा जोखिम व्यवस्थापन सजिलो हुने तर्क गरे। मिश्रले १८० दिनको एभरेज गणनाका आधारमा मार्जिन कलको प्रक्रिया सहज हुने भन्दै, ‘घट्यो भने तिर्न आउ, बढ्यो भने लिन आउ भन्ने हुन्छ’ उनले भने ।

उनका अनुसार शेयर बजारमा कृत्रिम रुपमा बुल ट्रेन्ड बनाइए केही मात्रामा बबल सिर्जना हुन सक्ने भए पनि त्यसको निगरानी गर्ने जिम्मा स्वयं राष्ट्र बैंककै हुने भएकाले संस्थागत लगानीका लागि यस क्षेत्र विश्वसनीय मानिन्छ। उनले भने, ‘धेरै माथि गयो भने भन्नुपर्ने राष्ट्र बैंक नै हो। त्यसैले डराउनुपर्ने कुनै कारण छैन।’

मिश्रले लगानी गर्दा बजारको स्थिरता, दीर्घकालीन दृष्टिकोण र उपयुक्त विकल्पहरूको अध्ययन अनिवार्य रहेको उल्लेख गरे। बजारको उतार–चढावमा बुद्धिमानीपूर्वक निर्णय गर्न फन्डामेन्टल विश्लेषण अपरिहार्य हुने उनले बताए। उदाहरण दिँदै उनले भने, ‘ट्रम राष्ट्रपति भएपछि अमेरिकामा टेस्लाको सेयर मूल्य तीन महिनापछि मात्रै बढेको थियो। बजारका फन्डामेन्टलहरूलाई हेरेर मात्र लगानी गर्नुपर्छ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*