भारतीय अटो बजारमा टाटाको दबदबा, टाटा नेक्सन र पञ्च सर्वाधिक बिक्री हुने सूचीमा

२५ मंसिर २०८२, बिहीबार १४:२३

काठमाडौँ । भारतीय अटो बजारमा सवारी साधनको बिक्री निरन्तर उकालो लाग्दै गएको छ। सन् २०२४ को नोभेम्बरसँग तुलना गर्दा सन् २०२५ नोभेम्बरमा बिक्री १८.७ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष नोभेम्बरमा ३ लाख ५१ हजार ५९२ युनिट सवारी बिक्री भएकोमा यस वर्ष सो महिनामा बिक्री बढेर ४ लाख १७ हजार ४९५ युनिट पुगेको छ।

यस वर्षको नोभेम्बरमा भारतीय अटो बजारमा टाटाले उल्लेखनीय अग्रता कायम राखेको छ। सबैभन्दा धेरै बिक्री हुने सवारीको सूचीमा पहिलो स्थानसमेत टाटाकै मोडल परेको छ। टाटा नेक्सन एसयूभीले २२ हजार ४३४ युनिट बिक्रीसहित शीर्ष स्थान हात पार्न सफल भएको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा ४६ प्रतिशतले बढी हो, जसले भारतीय बजारमा टाटाप्रतिको बढ्दो विश्वास स्पष्ट देखाउँछ।

यस्तै, बिक्रीका हिसाबले दोस्रो स्थानमा परेको टाटा पञ्चले १८ हजार ७५३ युनिट बिक्री गर्न सफल भयो। अघिल्लो वर्षको तुलना गर्दा टाटा पञ्चको बिक्रीमा पनि २१ प्रतिशतको वृद्धि भएको उल्लेख छ। दुवै मोडलले टाटालाई क्रमशः पहिलो र दोस्रो स्थान दिलाउन सफल हुँदा कम्पनीको बजार हिस्सेदारी थप मजबुत बनेको छ।

तेस्रो स्थानमा हुन्डाइ क्रेटा १७ हजार ३४४ युनिट बिक्रीसहित टप–१० भित्र परेको छ। चौथो स्थानमा महिन्द्रा स्कार्पिओ १५ हजार ६१६ युनिट, पाँचौं स्थानमा मारुती फ्रोनएक्स १५ हजार ५८ युनिट, र छैटौं स्थानमा मारुती भितारा ब्रेजा १३ हजार ९४७ युनिट बिक्री भएका छन्।

त्यस्तै, सातौं स्थानमा मारुती भिक्टोरिज १२ हजार ३०० युनिट, आठौं स्थानमा किया सोनेट १२ हजार ५१ युनिट, नवौं स्थानमा हुन्डाइ भेन्यू ११ हजार ६४५ युनिट तथा दशौं स्थानमा मारुती ग्राण्ड भितारा ११ हजार ३३९ युनिट बिक्री भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*