निरन्तर खुम्चिदै पुँजी बजारः हैरानीमा लगानीकर्ता, अझै अनिश्चित किन मार्केट ?

२५ मंसिर २०८२, बिहीबार १५:०८

काठमाडौँ । शेयर बजार यतिबेला लगातार सुस्त छ । सूचक दिनहुँ ओरालो लागिरहँदा लगानीकर्ताको पूँजी डुब्ने क्रम रोकिएको छैन । लामो समयदेखि बजार २६ सयदेखि २७ सय बिन्दु वरपर नै घुमिरहेकाले लगानीकर्ताको मनोबल कमजोर भएको छ । लगानी ‘बालुवामा पानि’ झैँ भएको टिप्पणी बजारमा बढ्दै गएको छ ।

अर्थमन्त्री नियुक्तिपछि रामेश्वर खनाल नेतृत्वमा बजार सुधारका विभिन्न पहल भए पनि ती प्रभावकारी हुन सकेका छैनन् । सरकारले पुँजी बजार स्थिरता र पारदर्शिताका लागि कदम चालिरहेको दाबी गरे पनि व्यवहारमा बजार निरन्तर अस्थिरतामै अडिएको छ । केही कम्पनीका नयाँ आईपीओ सूचीकृत भई सर्किट लागे पनि अन्य अधिकांश कम्पनीहरू स्थिर मूल्यमै अड्किएका छन् । यही स्थिरताले लगानीकर्ताको जोखिम सहने क्षमतामा थप दबाब दिएको देखिन्छ ।

बजारको अस्थिरता राजनीतिक परिवर्तन, सम्भावित आन्दोलनका खबर र बैंक तथा वित्तीय संस्थाहरूको त्रैमासिक वित्तीय विवरणले पनि झनै बढाएको छ । धेरै बैंकहरूको नाफा घट्नु र खराब कर्जा अनुपात बढ्नुले दीर्घकालीन लगानीकर्तालाई जोखिम मूल्यांकनमै रोकिरहेको छ । विश्लेषकहरूले बजारलाई अस्थिर बनाउने पृष्ठभूमिमा ठूला लगानीकर्ता र संगठित माफिया समूहको भूमिकासमेत रहेको आशंका व्यक्त गर्दै आएका छन् ।

नीति निर्माण तहदेखि नियामक निकायसम्म सक्रियता देखिए पनि अपेक्षित सुधार हुन नसक्नु बजारप्रतिको विश्वास कमजोर हुँदै गएको संकेत हो । लाभांश सिजन चलिरहँदा सामान्यतः बजारमा सकारात्मक उछाल देखिने गर्छ । तर यसपटक उल्टै गिरावटले लगानी समुदाय थप निराश बनेको छ । त्यसमाथि बैंकको ब्याजदर घटे पनि त्यसले बजारमा उत्साह फर्काउन सकेको छैन ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.६६ अकंले घटेर २६०७.३७ बिन्दुमा कायम भएको छ । ३२६ कम्पनीको ७७ लाख ६८ हजार ६०१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ७९ लाख रुपैयाँको कारोबार भएको हो ।

बिहिबार ८ उपसूचकको शेयर मूल्य घटेको छ भने ५ उपसूचकमा सुधार आएको छ । यसदिन ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको घटेको हो ।

आज स्वस्तिक लघुवित्त र एसवाई प्यानलको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*