माघ १४ गतेदेखि ‘काठमाडौं महोत्सव २०८२’: स्थानीय उत्पादनदेखि स्टार्टअपसम्मको बृहत् व्यापारिक उत्सव

२५ मंसिर २०८२, बिहीबार १८:११

काठमाडौँ । नेपाल उद्योग वाणिज्य संघले माघ १४ गतेदेखि १७ गतेसम्म भृकुटीमण्डपमा ‘काठमाडौं महोत्सव २०८२ (काठमाडौँ बिजनेस एक्स्पो २०२६)’ आयोजना गर्ने भएको छ। राजधानीलाई आर्थिक, सांस्कृतिक र पर्यटकीय केन्द्रका रूपमा थप उचाइमा पुर्‍याउने उद्देश्यसहित संघले महोत्सवको तयारी तीव्र पारेको छ।

संघका अनुसार स्थानीय उत्पादन, संस्कृति, पर्यटन, व्यवसाय र नवप्रवर्तनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी ढंगले प्रवद्र्धन गर्ने, साथै उद्यमशीलता, स्टार्टअप, घरेलु तथा साना उद्योगलाई बजार र अवसर उपलब्ध गराउने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागेको हो। करिब २०० अत्याधुनिक र व्यवस्थित व्यवसायिक स्टल रहने यस आयोजनामा स्थानीय उत्पादन तथा सेवाहरूको प्रदर्शनीसँगै रैथाने खानाको प्रतियोगिता, फुड–फेस्ट, कन्सर्ट, लाइभ म्युजिक, कला–संस्कृतिका विविध प्रस्तुति, विषयगत झाँकी, पर्यटन प्रवद्र्धन कार्यक्रम, फोटोग्राफी स्पट, स्वास्थ्य शिविरलगायत आकर्षक गतिविधिहरू समावेश गरिनेछन्। महोत्सवमा १ लाखभन्दा बढी अवलोकनकर्ताको उपस्थिति हुने अपेक्षा गरिएको छ।

महोत्सवबाट स्थानीय उत्पादनको बजार विस्तार, लगानी तथा व्यापारिक अवसर सिर्जना, काठमाडौँ उपत्यकाको सांस्कृतिक तथा पर्यटन पहिचान सुदृढीकरण, व्यवसायिक नेटवर्किङ विस्तार, नयाँ उद्यमी तथा स्टार्टअपलाई प्रेरणा तथा सञ्जाल प्रदान गर्ने, रोजगारीका अवसर बढाउने तथा समग्र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने आयोजकको दाबी छ।

यस महोत्सवमा स्वदेशी औद्योगिक उत्पादन, कपडा तथा पहिरन, अटोमोबाइल, इलेक्ट्रोनिक्स र होम एप्लायन्स, हस्तकला, कृषि उत्पादन तथा मेसिनरी, फर्निचर, फूड एण्ड बेभरेज, सूचना प्रविधि, ट्राभल तथा टुर सेवा, रियल स्टेट, हर्बल तथा अर्गानिक उत्पादन, बैंक तथा वित्तीय संस्था, जिल्लागत विशेष उत्पादनलगायत विविध क्षेत्रका प्रदर्शकहरूको सहभागिता रहनेछ। यसले महोत्सवलाई बृहत् राष्ट्रिय व्यापारिक मञ्चका रूपमा स्थापित गर्ने विश्वास लिइएको संघले जनाएको छ।

सर्वसाधारणदेखि उद्यमी, व्यवसायी, युवा–उद्यमी, विद्यार्थी, स्टार्टअप, पर्यटक, फुड–लभर्स, अन्तर्राष्ट्रिय पाहुना, आयात–निर्यात व्यवसायी, रिटेलर तथा कला–संस्कृति पारखीहरूसम्मको उल्लेखनीय सहभागिता रहने अपेक्षा आयोजकले व्यक्त गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*