नेपाल प्रहरीमा २१ जना इन्स्पेक्टर र ४३८ जना असई माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ २१ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) र ४३८ जना प्रहरी सहायक निरीक्षक (असई) माग गर्दै नयाँ भर्ना खुलाएको छ।
प्रहरीले खुलातर्फ १२ जना इन्स्पेक्टर र २३६ जना असई माग गरेको छ भने बाँकी समावेशी समूहतर्फबाट माग गरेको छ। इन्स्पेक्टरका लागि पुस ६ गतेदेखि माघ ५ गतेसम्म र असईका लागि पुस ९ गतेदेखि माघ ८ गतेसम्म आवेदन दिन सकिनेछ।
इन्स्पेक्टरतर्फ फारम भर्दा १२०० रुपैयाँ र असईतर्फ फाराम भर्दा ५०० रुपैयाँ लाग्नेछ। इन्स्पेक्टरका लागि २० वर्ष पूरा भई २५ वर्ष ननाघेको र असईका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनु पर्नेछ।
शैक्षिक योग्यतातर्फ इन्स्पेक्टरका लागि स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरेको र असईतर्फ प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ।














