नविकरण बीमा शुल्क आर्जन १० प्रतिशतले बढ्यो, सिटिजन–आइएमई र सूर्यज्योतिको उच्च बृद्धि

काठमाडौ । चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले करिव ४० अर्ब रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आवको तीन महिनामा ३९ अर्ब ६४ करोड ३० लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको हुन् ।
कम्पनीहरुले आर्जन गरेको नविकरण बीमा शुल्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.८१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले ३६ अर्ब १० करोड ६ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका थिए ।
सर्वाधिक नविकरण बीमा शुल्क संकलन गर्नेमा नेपाल लाइफ अग्र स्थानमा रहेको छ । प्रथम त्रैमाससम्मको अवधिमा नेपाल लाइफको नविकरण बीमा शुल्क ७.२७ प्रतिशतले बढेर १० अर्ब ७२ करोड ६३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन नौ अर्ब ९९ करोड ९७ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स नबिकरण बीमा शुल्क आर्जनको आधारमा दोस्रो नम्बरमा रहेको छ । कम्पनीको यस्तो शुल्क गत आवको तुलनामा १६.४० प्रतिशतले बढेर चार अर्ब ३६ करोड ३७ लाख रुपैयाँ रहेको छ ।
एलआईसी नेपाल लाइफको नविकरण बीमा शुल्क आर्जन ६.११ प्रतिशतले बढेर चार अर्ब ३० करोड ४८ लाख रुपैयाँ पुग्दा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको ३.८४ प्रतिशतले घटेर चार अर्ब ६ करोड चार लाख रुपैयाँ पुगेको छ ।

यता, हिमालयन लाइफको ५.६७ प्रतिशतले बढेर तीन अर्ब ८८ करोड ७० लाख रुपैयाँ नविकरण बीमा शुल्क रहेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्सको नविकरण बीमा शुल्क आर्जन २१.८६ प्रतिशतले बढेर दुई अर्ब २७ करोड १० लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा एशियन लाइफ इन्स्योरेन्सको १०.४७ प्रतिशतले बढेर एक अर्ब ८१ करोड १६ लाख रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको २५.५५ प्रतिशतले बढेर एक अर्ब ५८ करोड तीन लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १६.२२ प्रतिशतले बढेर एक अर्ब ३७ करोड ३० लाख रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा आइएमई लाइफ इन्स्योरेन्सको एक अर्ब नौ करोड पाँच लाख रुपैयाँ, मेट नेपाल लाइफ इन्स्योरेन्सको एक अर्ब २८ करोड ६५ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको एक अर्ब ८ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको एक अर्ब चार करोड ७९ लाख रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सको ७५ करोड ९३ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन रहेको छ ।













