कर्जा असुली नहुँदा संकटमा विकास बैंक र फाइनान्सः नाफामा गिरावट, कुनको अवस्था कस्तो (तथ्याङ्कसहित)

काठमाडौँ । कर्जा असुली प्रभावित हुँदा बैंक तथा वित्तीय संस्थाको मुनाफा निरन्तर ओरालो यात्रा तिर अघि बढी रहेको छ । खराब कर्जाको दबाबमा बैंक तथा वित्तीय संस्था पर्दा वित्तीय विवरण प्रभावित हुँदै आइरहेको हो ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको प्रत्यक्ष असर अहिले बैंक तथा वित्तीय संस्थाको देखिन थालेको छ । आन्दोलनपछि पुरानो मात्रै नभएर नियमित कर्जामा समेत समस्या आउँदा बैंकहरुको नाफा घट्दो क्रममा रहेको छ । बैंकहरूको नाफा घट्नुमा सबैभन्दा निर्णायक कारण बढ्दो खराब कर्जा मानिएको छ । कर्जा असुली ढिलो हुँदै गएपछि बैंकहरूले जोखिम व्यवस्थापनका लागि ठूलो मात्रामा प्रोभिजन छुट्याउनु परेको छ, जसले लागत बढाउँदै नाफामा प्रत्यक्ष दबाब सिर्जना गरेको छ ।
वाणिज्य बैंकसँग विकास बैंक र फाइनान्सको नाफामा समेत भारी गिरावट देखिएको छ । चालु आर्थिक वर्ष २०८२।०८३ को चार महिनामा विकास बैंकको नाफा ३४.९६ प्रतिशतले घटेर १ अर्ब ४ करोड ६० लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिमा विकास बैंकको नाफा १ अर्ब ६० करोड ८५ लाख रुपैयाँ रहेको थियो ।
हाल सञ्चालनमा रहेका ९ विकास बैंकको मुनाफा ऋणात्मक रहेको छ । घनात्मक रहेका ८ कम्पनीको मुनाफा पनि गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने घटेको हो ।
यसअवधिमा गरिमा विकास बैंकको मुनाफा सर्वाधिक रहेको छ । बैंकको नाफा ७.९५ प्रतिशतले बढेर ३९ करोड ७७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ३६ करोड ८४ लाख रुपैयाँ रहेको थियो ।
यता, चालु आर्थिक वर्षको चार महिनामा मुक्तिनाथ विकास बैंक सर्वाधिक नाफा आर्जन गर्ने दोस्रो नम्बरमा रहेको भएपनि कम्पनीको नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने ९ प्रतिशतले कम हो । बैंकको नाफा ३८ करोड ४२ लाख रुपैयाँमा सीमित भएको छ ।
चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको अवधिमा शाइन रेसुङ्गाको नाफा १४.६० प्रतिशतले घटेर ३० करोड २५ लाख, कामना सेवा विकास बैंकको १२.३८ प्रतिशतले बढेर २७ करोड ७७ लाख, सांग्रिला डेभलपमेन्ट बैंकको ८.५४ प्रतिशतले बढेर १४ करोड ८५ लाख, ज्योति विकास बैंकको २००३ प्रतिशतले बढेर १३ करोड ९६ लाख, महालक्ष्मी विकास बैंकको ८ करोड ४४ लाख र मितेरी डेभलपमेन्ट बैंकको ५२५ प्रतिशतले बढेर ३ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

अन्य बैंकको नाफा भने ऋणात्मक रहेको छ । राष्ट्रिय स्तरको विकास बैंक लुम्बिनी सबैभन्दा बढी ३६ करोड ४६ लाख रुपैयाँ ऋणात्मक रहेको हो ।
फाइनान्सको नाफा ऋणात्मक, रिलायन्स डुब्दै
चालु आर्थिक वर्षको चार महिनामा फाइनान्सको मुनाफा ऋणात्मक रहेको छ । यसअवधिमा हाल सञ्चालनमा रहेका १५ फाइनान्सको नाफा २७ करोड ७५ लाख रुपैयाँ ऋणात्मक रहेको हो ।
गत आर्थिक वर्षको सोहि अवधिमा फाइनान्सकोे मुनाफा २९ करोड २ लाख रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा ८ कम्पनी ऋणात्मक रहेका छन् भने घनात्मक रहेका कम्पनीको मुनाफा पनि गत आर्थिक वर्षको तुलनामा भारी गिरावट देखिएको छ।
चार महिनाको अवधिमा गुडबिल फाइनान्सको नाफा ५ करोड २८ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ६.०९ प्रतिशतले कम हो ।
यता, आइसिएफसि फाइनान्सको नाफा ५१ प्रतिशतले घटेर ४ करोड, मञ्जुश्री फाइनान्सको ८४ प्रतिशतले घटेर २ करोड ३५ लाख, सेन्ट्रल फाइनान्सको ५८ प्रतिशतले घटेर २ करोड ११ लाख, मल्टीप्रपोज फाइनान्सको २९ प्रतिशतले घटेर १ करोड ७० लाख, गोर्खाज फाइनान्सको ६५ प्रतिशतले घटेर १ करोड २५ लाख र श्रीइन्भेष्टमेन्ट फाइनान्सको ७४ प्रतिशतले घटेर २२ लाख रुपैयाँ रहेको छ ।

अन्य कम्पनीको मुनाफा भने ऋणात्मक रहेको छ । रिलायन्स फाइनान्स सर्वाधिक ऋणात्मक रहेको छ । कम्पनीको मुनाफा १८ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको हो ।
१३ प्रतिशतले घट्यो वाणिज्य बैंकको नाफाः चार महिनामा कमाए साढे १९ अर्ब, कुनको कति ?













